गोरखा । गोरखा बजारको सबै बैंकले राखेको एटिएम मेशिन बन्द भएका छन् । एटिएममा राखिएको पैसा सकिए पछि सबै बन्द भएका हुन् ।
एटिएममा पैसा सकिए पछि अधिकांश उपभोत्ताहरु मारमा परेका छन् । पैसा सकिए लगत्तै अधिकांश बैंकले आफ्नो एटिएम मेशिन राखिएको स्थानमा सटर बन्द गरेका छन् ।
मध्यान्न १२ बजेसम्म गोरखा बजारमा रहेको हिमालयन बैंक र ग्लोबल आईएमई बैंकको एटिएम मेशिन घर खुल्ला भएता पनि पैसा निकाल्न नमिलेको एक ग्राहकले जानकारी दिए ।
सामान्य पनि एउटा एटिएम मेशिनमा ५० लाखसम्म राख्न मिल्ने भएता पनि ४० लाखभन्दा कम पैसा नराख्ने गरिएको ग्लोबल आईएमई बैंकका समिर वाग्लेले बताए । उनले ‘एटिएम मेशिनमा हिजो मात्र ४० लाख राखेको’ भन्दै ‘आजै कसरी सकियो जानकारी नभएको’ बताए ।
बैंक रोडमा रहेको एनएमबि बैंकको पनि पैसा सकिएको भन्दै एटिएम घर बन्द गरिएको शाखा प्रबन्धक केशव रेग्मीले बताए । ‘अस्ति ३० लाख हाल्यौ एकै रातमा सकियो’ उनले भने ‘हिजो पनि ३० लाख राखेको रातभरीमा सकियो । अनि बन्द गरायौ ।’
सदरमुकामको राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक, एभरेष्ट बैंक सहितका सबैं बैंकको एटिएममा पैसा सकिएको भन्दै बन्द गरिएको छ ।



