गोरखा – गोरखा नगरपालिका ५ ठुलो रिपकी सानुमायाँ थापा मगरको परिवारमा २२ जना सदस्यहरु छन् । आम्दानीको श्रोत नभएका मगर परिवारलाई च्याउ खेती बरदान सावित भएको छ ।
सानुमायाँले च्याउ खेती गरेको ५ बर्ष भएको छ । यो बिचमा उनले च्याउ बिक्रीबाट बचत गर्न नसके पछि २२ जना सदस्यको घर परिवारलाइ उपचार खर्च, पठनपाठन, उपचार खर्च र भईपरी आउने कुनै पनि काममा समस्या भने परेको छैन ।
सानुमायाँका श्रीमान र उनले ०७२ सालमा १६० मुढाबाट सुरु गरेको सिताके च्याउ खेती ५ बर्ष बित्न लाग्दा १००० भन्दा बढी मुढामा खेती भई रहेको छ ।
गोरखा बजारबाट हिडेर ३० मिनेट र सवारी साधानमा १० मिनेटमा पुग्न सकिर्ने ठुलो रिपमा अन्य खेतीहरु खासै हुदैन । मकै, कोदो, धानको उब्जनीले बर्षभरी खान पनि पुग्दैन । तर सानुमायाँले गरेको यो कामले भने उनको परिवारलाई कहिल्यै भोको बस्नु परेन र आपतबिपतमा अरु संग खर्च मागिरहनु पनि परेको छैन ।
प्राविधिक सिप नभएका मगर परिवारलाई साथ दिएको छ यूट्युभले । उनीहरु प्राय सिताके च्याउ खेती कसरी गरिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर युट्युभ हेरीरहन्छन् । ‘कुनै तालिम लिएको छैन । श्रीमानको साथमा रहेको मोबाईलमा च्याउ खेती सम्वन्धी भिडीयो हेरी रहन्छौ र त्यही अनुसार हामी काम पनि गर्छौ’ सानुमायाँले भनिन् ।
सुरुमा आफैले खानका लागि मात्र १६० मुढामा च्याउ खेती सुरु गरेका थापामगरको परिवारले दोस्रो बर्ष थप १६० मुढा थपे र तेस्रो बर्ष २०० अनि चौथो बर्ष ५०० मुढा थपेर अहिले ब्यवसायीक खेती गरिरहेका छन् । ‘२०७२ सालको माघ महिनाबाट खेती गर्न सुरुको हु । बिच बिचमा मुढा थप्दै अहिले एक हजार भन्दा बढी मुढामा खेती गरेको र यसैबाट घर खर्च टरेको’ उनले भने ।
सानुमायाँको परिवारले अहिले दैनिक जसो १० केजी सम्म च्याउ बिक्री गर्दै आएका छन् । प्रति केजी ५०० रुपैयाँमा बजारमा बिक्री भई रहेको च्याउ लिन घरै पनि आउने गरेको उनले सुनाईन् । पछिल्लो समय कोरोनाका कारण झनै च्याउको माग बढेको उनले सुनाईन् । ‘यसको सुप बनाएर पिउदा रुघा, खोकी निको हुने भएकोले माग बढेको’ उनले बताईन् ।
४ महिना मात्र उत्पादन हुने यो च्याउ बिक्रीबाट सानुमायाँको परिवारले बर्षको ६ लाख रुपैयाँ सम्म आम्दानी लिन थालेका छन् ।
सानुमायाँको परिवारले २ वटा प्लास्टिकका टनेलमा खेती गरेका छन् । सरकारी तथा सरोकारवाला कुनै पनि निकायबाट न तालिम पाए न त अनुदान नै । तर पनि उनीहरुले जाने सम्मको सबै सिप च्याउ खेती खर्चिरहेका छन् ।
अन्य च्याउको तुलनामा यो च्याउ पकाएर खाँदा स्वादिलो हुने भएका कारण र सस्तोमा पाउदा पनि बजारमा माग बढी भएको हुन सक्ने उनीहरुको अनुमान रहेको छ । रहरमा थालीएको च्याउ खेतीले राम्रो आम्दानी दिन थाले पछि अहिले सानुमायाँको परिवारले यसलाई बिस्तार गर्ने योजना समेत बनाएको छ ।
६ महिना सम्म स्यारसुसार गरेर ४ महिना उत्पान दिने यो च्याउ खेतीमा अरुको आखाँ नपरे पछि मगर परिवारको यो खेतीको गाउँलेहरुले सिको गर्न थालेका छन् ।
प्रत्येक बर्ष कार्तिक आधाआधी वा मंसिर पहिलो साता देखी उत्पादन दिने सिताके च्याउ फागुन मसान्त वा चैत्र आधाआधी सम्म उत्पादन हुने गर्दछ । काठको मुढामा जापानी प्रविधीबाट उत्पादन गरिने यो च्याउ स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ ।























