काठमाडौं – कोरोना महामारी नियण्त्रण गर्न सरकारले प्रभावकारी भुमिका नखेलेको निष्कर्ष निकालेर ‘इनफ इज इनफ’ भन्दै सडकमा देखिएका ‘ई’ चार दिनमा दुई पटक पक्राउ परे । प्रहरीले अहिले उनलाई छाडिसकेको छ ।
उनले कक्षा १० पास नगर्दै ‘यो व्यवस्था परिवर्तन गर्छु’ भन्ने महत्वाकांक्षा बोकेर स्कुल छाडेका थिए । ‘आलो उमेरमा नै संसार नै पल्टाउन सक्छु’ जस्तो लागेर स्कुल छाडेको बताउने उनी विगतलाई फर्केर हेर्दा अहिले हाँस उठ्ने बताउँछन् ।
उनी सन् २०१२ सम्ममा राप्रप्रा नेपाल पार्टीमा थिए । पार्टीमा काम गर्दै जाँदा ‘मेरो बाटो यो होइन’ भन्ने महसुस गरेर पार्टी छाडे । तर, विभिन्न सामाजिक अभियानमा भने सक्रिय भइरहे।
अकुपाई बालुवाटार, हनुमानढोका निजीकरणको अभियान, म स्वदेशी भन्ने सामाजिक काम र अभियानहरुमा पनि उनलाई देख्न सकिन्थ्यो । विवेकशील नेपाली दल गठनको क्रममा सहयोग गर्नेमध्येका उनी पनि एक थिए । तर, सक्रिय राजनीतिमा लाग्न अनिच्छुक भएका कारण उनी दलीय हिसाबले सक्रिय भएनन् ।
सन् २०१५ मा मधेस आन्दोलन चर्किएको बेलामा सम्मान, भाइचारा र सम्भावको सन्देश लिएर हुलाकी राजमार्ग र पूर्व पश्चिम पैदल गरेको उनले त्यहीबेला राष्ट्रिय एकता अहिंसाका लागि पहल गर्न सीके राउतलगायत विभिन्न नेताहरुलाई भेटेका थिए ।
सन् २०१६ मा सिंहदरबारमा रातो रंग छ्याप्ने व्याक्ति उनी नै थिए । त्यतिबेलाको उनको माग प्रधानमन्त्री र राष्ट्रपतिले राज्यको तर्फबाट भएका ऐतिहासिक दमन र हिसांको लागि माफ मागेर राष्ट्रिय मेलमिलापको लागि आह्वान गर भन्ने थियो । दमन र हिंसालाई राज्य सञ्चालनको माध्यमको रूपमा परित्याग गरेको घोषणा गर्न सरकारलाई उनको आग्रह थियो ।
त्यसैगरी सन् २०१७/१८ मा नेपालको पूर्व पश्चिम हिमाल पहाड तराई साढे तीन पटक हिँडे । ६ हजार किलोमिटर पैदल हिँड्दा मानिसहरुको बस्तीमा बास माग्दै हिँडेको उनी त्यो यात्रा सम्झँदै भन्छन्, ‘आफ्नो कौतुहल मेट्नु र स्वयंको खोजी गर्नु त्यो पैदल यात्राको उद्देश्य थियो ।’
‘इनफ इज इनफ’ अभियानका उनै ‘ई’ ले यो आन्दोलनको समग्र पाटोको बारेमा अनलाइनखबरलाई बताएका छन् :

‘इनफ इज इनफ’ अभियानको कुरा गर्नुपूर्व म आफ्नो नामको बारेमा प्रष्ट पार्छु । म आफूलाई ‘ई’ भनेर चिनाउँछु। यो नाम म आफैंले रोजेको हो । अहिले म २५ वर्षको भएँ । घर छाडेको दस-एघार वर्ष भयो।
जीवनमा आफ्नै किसिमले अगाडि बढ्न, आफ्नै पहिचान बनाउन, आफ्नै विचार निर्माण गर्न र यो समाजले निर्माण गरेको विभिन्न परिधि भन्दा माथि उठ्न मैले ‘ई’ नाम रोजेको हुँ ।
यो ‘ई’ भनेको कस्तो रहेछ भने अधिकांश भाषामा भएको भवेल्स साउण्ड रहेछ । हाम्रो समाजको जुन जनाउहरुले मलाई कैद गर्छ नि, त्यो जनाउ भन्दा माथि उठ्नका लागि आफ्नो पहिचान आफैं निर्माण गर्छु भनेर मैले ‘ई’ नाम प्रयोग गर्न थालेको हुँ ।
म सानै हुँदा मेरो बुवा पैसाको समस्या परेर विदेश जानुभएको थियो । त्यसपछि म केही समय मुमासँग बसेँ । त्यसको केही समयपछि मुमा र आमा छुटिनुभयो । त्यसपछि म मेरो आफूबुवासँग (हजुरबुवालाई उनी आफूबुवा भन्छन्) बसेँ । उहाँले नै मलाई हुर्काउनु भयो ।
घर छाडेर हिँड्नुपूर्व पनि म विभिन्न समुदायको साथीहरुकोमा गएर बस्थेँ । विभिन्न समुदायको साथीहरुकोमा बस्न मेरो लागि नयाँ कुरा होइन । जुन धरातल समाजले या कानुनले थोपर्न खोजेको छ, मैले आफ्नो नाम ‘ई’ बनाएर त्यो धरातललाई बहिस्कार गरेको हो भन्न मिल्यो एक किसिमले । ‘ई’ नामको कथा यही हो । त्यसैले म ‘ई’ बाहेक अरु नाम वा विशेषणले चिनिन चाहन्न ।
अब म अहिले चलिरहेको अभियान ‘इनफ इज इनफ’ अभियान जन्मनुको पृष्ठभुमिका बारेमा बताउँछु ।
सुरुमै के प्रष्ट पार्छु भने म यो अभियानमा लहडमा या उक्साहटमा जोडिएको होइन । आफ्नो चेत र स्वविवेकले यो अभियानको ग्रुप सिर्जना गरेको हुँ । म पहिलेदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा आएको समाचार र लेखहरु पढिरहेको हुन्थेँ ।
जुन बेला अमेरिका र इरानमा संक्रमणले महामारी लियो, त्यतिबेला नेपालमा यो किसिमको संक्रमण देखिएको थिएन । ती देशहरुमा महामारीले रुप लिँदा ‘प्यानडामिक’ एउटा ‘पोर्टल’ हो भनेर ‘टर्म’ गर्न थालियो । अब संसार कुन दिशामा जान्छ भन्ने कुरा यो महामारीले निर्धारण गर्छ भन्ने धेरै विश्लेषकहरुको मत थियो । अनि जनता जिम्मेवार भएनन् र जवाफदेहिता खोजेनन् भने संसार निरकुशंतातिर उन्मुख हुन्छ भन्ने किसिमको विश्लेषण निरन्तर पढिरहेको थिएँ ।
स्वतन्त्रता भन्ने कुरा सित्तैमा आउदैन र स्वतन्त्रताको लागि संघर्ष गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । नेपालमा जनवरी २३ मा कोभिडको पहिलो केस ‘डिडेक्ट’ भयो । त्यसको धेरै समय पछिसम्म पनि भिजिट नेपाल इयर गर्ने, नेपालमा कोरोना आउँदै आउदैन भन्ने र नेपाललाई ‘कोरोना फ्री जोन’ घोषणा गर्ने सम्मको कुराहरु नीति निर्माण तहमै बसेको मानिसबाट आयो । उनीहरुबाट आएको यस्तो ‘रेस्पोन्स’हरु देख्दा हामी आउँदै गरेको महामारीको बारेमा कति धेरै अनविज्ञ रहेछौं, हाम्रो नेतृत्व कति धेरै अनविज्ञ रहेछ भनेर त्यतिबेला नै प्रष्ट भएको थियो ।
नेपालमा लकडाउन दोस्रो केस देखिएपछि प्रारम्भ भयो । पीसीआर टेस्टको दायरा बढाएर, एक्टिभ केसहरुलाई पहिचान गर्दै आइसोलेट गरेर, उनीहरुको क्लोज कन्ट्याक पहिचान गर्दै टेस्ट गरेर संक्रमणको चेन अफ ट्रान्समिसन ब्रेक गर्न लकडाउनको समयलाई राज्यले उपयोग गर्नुपर्ने थियो । तर, सरकाले लकडाउनको समय उपयोग गर्न नसकेको ‘ओपन सेक्रेट’ नै छ ।
लकडाउनको बेलामा ‘माइग्रेन्ट वर्कर’हरु जो, हाम्रो समाजको क्लास स्ट्रक्चरमा सबैभन्दा तल छन् । हाम्रो समाजवाद उन्मुख राष्ट्रमा कम्युनिष्ट सरकार हुँदा पनि उनीहरु बिचल्ली भएर घर जानुपर्यो । विभिन्न अफ्ठ्यारो बेहोर्नुपर्यो । कतिपय मानिसलाई त हामीले दशगजामा महिनौंसम्म रोक्यौं । उनीहरु बिचल्ली भएर पाल टाँगेर बसेका समाचारहरु दिनहुँ आउथे । हामी दशगजामा बिचल्ली परेका नागरिक र काठमाडौंबाट आफ्नो गाउँ पैदल फर्किएका मजदुरहरुको दयनीय अवस्थाको समाचार पढेर सामाजिक सञ्जालमा फ्रस्टेसन पोख्नेबाहेक केही गर्न सकिरहेका थिएनौं ।
यी सबै समाचारहर म इन्स्टाग्रामको स्टोरीमा हाल्थेँ । त्यो देखेर साथीहरु ‘गलत भइरहेको छ, अब त केही गर्नुपर्छ’ भनेर सोध्थे । यो लकडाउन सुरु भएपछिको कुरा हो । त्यहीबेला पब्लिक हेल्थ एक्सपर्ट (जनस्वास्थ्य विज्ञ) हरुले चेञ्ज डट ओवार्जीमा टेस्टको दायरा बढाउन सरकारलाई दबाव दिन भनेर एउटा पेटिसन सुरु गरेका थिए । त्यो पेटिसन हामीले धेरै साथीहरुलाई सेयर गर्यौं । संक्रमणको विस्तार रोक्न टेस्टको दायरा बढाउनुपर्छ भनेर मिडियाहरुले आवाज उठाइरहेका थिए । जनस्वास्थ्य विज्ञहरुले पटक पटक बोलिरहेका थिए। त्यो कुरामा हामी पनि लाग्यौं ।
पब्लिक हेल्थ एक्सपर्टहरुले सुरु गरेको पेटिसनमा लगभग साढे १२ हजार हस्ताक्षर जम्मा भयो। त्यो कुराको सूचना स्वास्थ्य मन्त्रालयमा पनि पुर्याइयो तर, कुनै सुनुवाई भएन ।
त्यो बेला मिडियामा टेस्टमा भएका भद्रगोलका समाचारहरु पटक पटक आइरह्यो । आइसोलेसन र क्वारेण्टिनको बिजोक कोहीबाट छिपेको थिएन । घर जाने मजदुरले बाटोमै मृत्युवरण गर्नुपरेको समाचारहरु आइरहेको थियो । यस्ता समाचारहरु निरन्तर आइरहँदा पनि सरकार निरिह देखियो । त्यसले हामीलाई घुटन भए जस्तो भयो । हामी चाहिँ घरमा ‘स्टे सेफ, स्टे’ होम भन्दै बस्ने, तर जो निम्न वर्गका मानिस छन्, जसलाई सरकारको साँच्चिकै मद्दत चाहिएको छ । जो विदेशबाट नेपाल फर्किन खोजिरहेका छन्, उनीहरुलाई साँच्चिकै अफ्ठ्यारो भइरहेको थियो ।

यता सरकारले लकडाउनलाई सदुपयोग गरेको थिएन। त्यो बेला हामीले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँहरुको नम्बरमा लगातार एसएमएस गरेका थियौं । एसएमएस क्याम्पेनको उद्देश्य घर फर्किने मजदुरको राम्रो व्यवस्था मिलाइयोस भन्ने थियो।
यसरी कोभिड १९ मा सरकारको गम्भीर रेस्पोन्स चाहियो भनेर दबाब दिँदा पनि सरकार गम्भीर देखिएन । त्यसपछि अब सडकमा आउनुको विकल्प छैन भनेर म व्यक्तिगत रुपमा कन्भिन्स भएको थिएँ ।
सन् २०२० मा बंगलादेशको एक कुनाबाट अर्को कुना हिँड्छु। अष्ट्रेलिया एक कुनाबाट अर्को कुना हिँड्छु । सकेसम्म धेरै देश हिँड्छु र नयाँ कुरा सिक्छु भन्ने सोचेको थिएँ । तर, लकडाउनले मेरो योजना सफल भएन ।
लकडाउनका बेला समाचार हेर्दा हेर्दै चिन्तित भइसकेको थिए। सामाजिक सञ्जालमा कराएर मात्र केही नहुने रहेछ भनेर निष्कर्ष निकालेको थिए। मिडियाको आवाज समेत सरकारले नसुनेको देखेपछि अब सडकमा आउनु पर्छ भन्ने सोचमा पुगेको थिए। चिन्ता मात्रै बढिरहेको थियो।
त्यसपछि मैले २५ दिनअघि देखि निरन्तर अब त अत्ति भो, सडकमा आउने अवस्था आयो भनेर सामाजिक सञ्जालमा पोस्टहरु सम्प्रेषण गरे।
त्यतिबेला धेरै मानिसहरुले सडकमा आएर हुन्छ र ? भनेर प्रश्न गर्न थाले। ‘तिम्रो आइडिया हो तिमी आफैं गर’ भन्ने किसिमको सुझाव आए। त्यो बेला अन्य मानिसहरु नक्साको विषयमा सडकमा आएका थिए । एमसीसीको विषयमा सडकमा आएका थिए । अन्य माग राखेर आन्दोलन गरिरहेका मानिसहरु दिनहुँ सकडका देखिन्थेँ ।
तर, जनताको जीवन मरण प्रत्यक्ष जोडिएको कोभिड १९ को विषयमा कोही सडकमा आएका थिएनन् । सरकारलाई सचेत गराउने काम सामाजिक सञजाल र मिडिया बाहेक अन्त कतै भएको थिएन ।
सामाजिक सञ्जाल र मिडियाको आवाजलाई सरकारले नसुनेझै गरिरहेको थियो। त्यसपछि यो विषयमा सडकमा कोही नआउने रहेछन भन्ने सोचेर म आफैं सडकमा आउनुपर्यो भनेर निष्कर्ष निकाले।
सरकारले कोभिड १९ नियण्त्रण गर्न गरेको काममा जनता खुशी छैनन भनेर सडकमै आएर देखाउनु पर्छ भन्ने लाग्यो । किनकी, सामाजिक सञ्जाल र मिडियामा कराएर मात्र केही नहुने रहेछ भन्ने लगभग प्रमाणित भइसकेको थियो। त्यसपछि ‘सडकमा आउन इच्छुक कोही हुनुहुन्छ भने तपाई आफ्नो फेसबुको आइडी पठाउनुस्, म तपाईलाई एउटा फेसबुक बनाएर एड गर्छु’ भनेर इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गरे। सडकमा आउनको लागी मेरो यो प्रस्ताव थियो।
लगभग ४ सय युवाहरुले हामी सडकमा आउन तयार छौ भनेर फेसबुक आइडी पठाए। त्यसरी आउने धेरैजसो मध्यम वर्ग, उपल्लो मध्य वर्ग, प्राइभेट स्कुल एजुकेटेडहरु थिए। यो पुस्ता यसरी सडकमा आउन तयार हुनु राम्रो संकेत हो । किनकी, राजनीति फोहरी खेल हो भनेर चासै नराख्नेहरु राजनीतिज्ञलाई प्रश्न गर्न सडकमा निस्किन तयार भएका थिए । यो पुस्ता यसरी सडकमा आउनु भनेको नेपाल र नेपाली राजनीतिकै लागि सकरात्मक पक्ष हो ।
यसरी मैले केही नगरिकन ती ४ सय जना साथीहरुले ‘इनफ इज इनफ’ भन्ने ग्रुपमा अरु साथीहरुलाई भटाभट इन्भाइट गर्न थाले । उनीहरुको इन्भाइट स्वीकार्दै धेरै साथीहरु सडकमा आउन तयार भए ।
ग्रुप छलफलमै नाराहरु तयार भयो। पहिलो दिन बालुवाटार जाने कुरामा म लगायत अन्य १०, १२ जना साथीहरु बढी सक्रिय थिए । उक्त अभियानमा ५० /६० जना मानिसहरु आउलान्, सामाजिक दुरी कायम गरेर सरकारको ध्यानआकर्षण गरेर फर्किनु पर्ला भन्ने हाम्रो सोच थियो । तर, त्यहाँ त हामीले नसोचेको कुरा भयो ।
बालुवाटारमा आन्दोलन सुरु गरेको दिनमै सरकार काम्यो । शान्तिपूर्वक बस्दा पनि हामीलाई पानीको फोहोरा छ्यापियो । सामाजिक दुरी कायम गरेर बस्दा पनि लछालुछुर पारियो । यसमा म प्रहरीको दोष देख्दिन, किनकी उहाँहरुले माथिको आदेश पालना गर्नुपर्छ ।
सरकारको त्यो हर्कतले धेरै मानिसमा आक्रोश विस्फोट भयो । घरमा बसेका अरु मानिसहरु ठीक भइरहेको छैन भनेर आक्रोशित थिए । सरकारको काम गराईप्रति धेरैलाई सन्तुष्टि थिएन । उनीहरुले आवाज उठाउन मात्र सकेका थिएनन् । जहाँसम्म मलाई लाग्छ हामीले पहिलो आवाज उठाउने काम मात्र गरेको हो ।
मेरो सोच पनि एकचोटी सडकमा गएर ध्यानाकर्षण गराउने मात्र थियो । यसले यसरी ठूलो रुप लिन्छ र मानिसहरुले स्वस्फुर्त रुपमा देशभरी सडकमा आउँछन् भन्ने मलाई लागेको थिएन । पछिल्लो ४ दिनमा देशभरमा ९० ठाउँमा मानिसहरु स्वस्फुर्त सडकमा आएका छन् । हामी कसैले पनि आन्दोलनले यो रुप लिन्छ होला भनेर सोचेका थिएनौं । यो आफैं भएको कुरा हो ।
***
कोभिड १९ को समस्या कति गम्भीर छ भन्ने कुरा हाम्रो पब्लिक हेल्थ एक्सपर्टहरुले गरेको आकलनबाट थाहा हुन्छ । उहाँहरुको अनुसार क्वारेण्टिन भद्रगोल भएकाले, टेस्ट नगरेकाले , पीसीआर टेस्टिङ नगरिकन घर पठाएका कारणले अबको एक महिनामा भयावह अवस्था आउदैछ । यी कुरा नबुझ्नेहरुले हामीलाई विभिन्न आरोपहरु लगाएका छन् । यी कुरा बुझ्नेहरु आफैं सरकारलाई सजक गराउन लागिपरेका छन् ।
सबै जना मानिस सडकमा आउनुपर्छ, इनफ इज इनफ भनेर आन्दोलन गर्नुपर्छ भन्ने मेरो सोच हुँदै होइन । तर, सबै जनाले आ आफ्नो ठाउँबाट सरकारलाई सजक गराउनु त पर्यो नि । जायज कुरामा त प्रश्न गर्नु पर्यो नि। मेरो उद्देश्य यति हो ।
कसैले मलाई एजेण्ट भन्छ भने भन्नु तर यो त जीवन मरणको सवाल हो । हामीले त सरकारले गर्नुपर्ने काम गर्नुपर्यो बाहेक अरु केही भनेका छैनौं । सरकारले टेस्टिङ गर्नु पर्यो, क्वारेण्टिन व्यवस्थित बनाउनुपर्यो । स्वास्थ्यकर्मीहरुको डिग्निटी र सेफ्टी हेर्नु पर्यो । लकडाउनले गर्दा प्रभावित भएका मजदुरहरुलाई राहत दिनुपर्यो भनेर मात्र भनेका हौं ।
यो कुरामा पनि कसैलाई दुविधा छ भने सबैले आ आफ्नो ठाउँबाट यो इस्युलाई बुझेर जे जे ठिक लाग्छ त्यो गरौ भन्ने मेरो आग्रह हो ।
अहिले सामाजिक सञ्जालमा मेरो बारेमा धेरै थरि प्रतिक्रियाहरु आइरहेका छन् । तर, मैले पहिलो दिनको अभियान मात्र अलिक बढी नेतृत्वदायी भूमिकामा सहभागी भएको हुँ । त्यसपछि मैले ग्रुपमा सामान्य भूमिका मात्र निर्वाह गरेको हो । म साथीहरुलाई पटक पटक भनिरहेको छ, ‘वी गेट दि लिडर, वि डिजर्भ ।’
अघि पनि मैले भनेको थिएँ, ‘लोकतन्त्र र स्वतन्त्रता भनेको कुरा सित्तैमा पाएको होइन । यो संघर्षबाट आएको हो । संघर्ष नगरिकन र नागरिक तहमा एउटा चिन्तन नभइकन यो टिक्कनेवाला छैन्। यस्ता कुरामा हामीहरु रियाक्टिभ छौं ।
अहिले अभियानको विरोध गरिरहेका साथीहरु नै भोलि यो भन्दा भयावह अवस्था आयो भने सरकारको विरुद्ध लागि पर्छन् । किनकी, संकटको दिन त आउनेवाला छ । भयावह अवस्था आयो भने त्यसको सामना गर्न सक्ने अवस्थामा त हामी पुगिसकेका छैनौं ।
त्यही भएर रियाक्टिभ हुनु भएन, भिजनरी हुनुपर्यो भनेको हो । हामीले हाम्रो नेतृत्वबाट पनि प्रोयाक्टिभ एक्सनको आशा गर्नुपर्यो । समस्या आइसकेपछि रोइकराई गरेर के गर्ने ? अहिले भनेको त एकदम क्रिटिकल टाइम हो । सरकारले स्वतन्त्र रुपले उठेको प्रदर्शनलाई प्रश्नको रुपमा लिनुपर्यो, आग्रहको रुपमा लिनुपर्यो ।
यो स्वतन्त्र रुपले उठेको प्रदर्शन हो । मैले रोक भनेर कोही रोकिन्न । मैले यसो गर र त्यसो गर भन्दा पनि कोही मान्नेवाला छैन । किनकी, यो अभियानमा सबै जना आ आफ्नो विवेक र चिन्तन प्रयोग गरेर आएका हुन् । मैले सबैलाई के भन्छु भने तपाईहरु सबैजना नेता हुनुहुन्छ । तपाईहरुको ‘इनिसियटिभ’ हो । हामीले त खाली ‘फ्यासिलियट’ गर्ने काम मात्र गरेको हो ।
देशमा गएका ४ दिनमा भएका ९० भन्दा बढी आन्दोलनमा म तीन ठाउँमा उपस्थित भए । त्यसैले यसलाई सरकारले स्वस्फुर्त आन्दोलन हो, जनताको मन र विवेकबाट जन्मिएको आन्दोलन भनेर बुझ्नुपर्यो । जनताहरुलाई चित्त बुझेको छैन भनेर बुझ्नुपर्यो ।
प्रधानमन्त्रीलाई अहिले त आफूलाई हिरो बन्ने अवसर छ। १० दिनमा पीसीआर मेसिन थप्छौं । १० दिनभित्र सबै फ्रन्टलाइन हेल्थ वर्करलाई पीपीई नहुने अवस्था हुन्र । आवश्यकताअनुसार उपकरणहरु थप्न हामी कोशिस गर्छौ भनेर प्रतिबद्धता गर्ने मात्रै हो भनेपनि सरकारको रातरात जयजयकार हुन्छ । यति त गर्नु्पर्यो नि । तर, यस्ता कुरामा सरकार एकदम क्याजुअल भएको देखियो । कोभिडले केही हुन्न लसुन र बेसार खाए हुन्छ भन्ने प्रधानमन्त्रीकै अभिव्यक्ति सुनियो ।
प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति एकदम अवैज्ञानिक, दम्भपूर्ण र देशलाई दुर्घटनामा पुर्याउने खालको हो भनेर जनस्वास्थ्य विज्ञहरुले पनि भनिरहेका छन् । हामीले यसमा अरु के नै भन्नु पर्छ र !
हामीले आन्दोलन गर्दै गर्दा आन्दोलनको टाइमिङ र नक्साको विषयमा पनि जोडियो । कतैबाट गाइडेड भएको हो कि भनेर धेरैले आरोप लगाए।
जहाँसम्म नक्साको विषय छ, यसमा म दुई वटा कुरा भन्छु । नक्साको विषयम त सर्वसम्मत भइसक्यो । यसमा कसैको विरोध छैन । त्यो सहज ढंगले अगाडि बढिसक्यो । हाम्रो मूल फोकस भनेको कोभिड १९ को रेस्पोन्समा सरकार सतर्क हुनुपर्यो । यो जीवन मरणको सवाल हो भनेर बुझ्नुपर्यो भन्ने मात्र हो ।
दोस्रो कुरा के भने जीवन मरणको सवालमा सरकारले प्रभावकारी काम गर्न सक्दैन भने यो सरकारले भूमि फिर्ता ल्याउँछ भनेर कसरी आश गर्ने ? बोर्डरमा माइग्रेण्ट वर्करहरु हिडेर घर फर्कनुपर्ने अवस्था छ। आफ्नै नागरिकहरु बोर्डरमा अलपत्र परे । देश भनेको भूगोल मात्र हो र ? देश भनेको जनताहरु होइन ? जनताको सुरक्षा गर्न नसक्ने सरकारले विदेशबाट भूमि फिर्ता ल्याउछ भनेर कसरी विश्वास गर्ने ? मैले प्रष्ट रुपमा भने यो प्रश्न पनि हो।
फेरि पनि मैले दोहोर्याएँ, यो आन्दोलन स्वस्फुर्त भएको आन्दोलन हो । कसैले कसैलाई आन्दोलन भोलि गर र पर्सि गर भनेर हुने पनि थिएन । स्वविवेकले आयोजना भएको आन्दोलनलाई कसैले कसैलाई अर्डर दिने कुरा पनि भएन । नक्साको कुरा प्रकियामा गएर सकिएको थियो । मलाई त अहिले नक्साको बारेमा भन्दा पनि जनताको जीवनको सवाल महत्वपूर्ण छ जस्तो लाग्छ।
अहिले पनि कसैलाई यो आन्दोलन मैले वा कोही व्यक्ति विशेषले मैले सञ्चालन गरेको भन्ने लाग्छ र मलाई थुनेर आन्दोलन सकिन्छ जस्तो लाग्छ भने समाते हुन्छ। जनस्वास्थ्य विज्ञहरुले अबको दुई/तीन हप्ता एकदम क्रिटिकल हप्ता हो । हामी वार कि पारको अवस्थामा पुगेका छौं । लकडाउन खुलेकाले मानिसहरुको मोबिलिटी बढ्छ भनेर भनिरहेका छन् ।
यो बेला पनि राज्य सिरियस भएर नलागे त संक्रमण फैलिइहाल्छ नि ! यो कुरा सबैले बुझिसकेका छन् । यी कुरा सुधार नगरेर त यसै पनि कोभिड लाग्छ भनेर युवाहरुले सडकमा आउन जोखिम लिएका हुन् । तर, यति भन्दा भन्दै आन्दोलनमा सहभागी सबै युवाहरुले मास्क लगाएका छन् । फिजिकल डिस्ट्याण्ट कायम गरेका छन् । अधिकांश ठाउँमा नाराबाजी र होहल्ला गरेका छैनन् ।
अनि जहाँ राज्यको दमन भएको छ त्यहाँ मात्रै सामाजिक दुरी भत्किएको छ। हामीले यी सबै कुराहरुमा अनुशासन पालना गरेका छौं। हामीले रोगको गम्भीरता बुझेर नै आन्दोलन गरेका हौं । सावधानी अपनाएर आन्दोलन गरेका हौं । रिस्क किन पनि लिएको हो भने दुई तीन हप्तामा व्यावस्थापन पछि झन भयावह हुन्छ भनेर हामीले अन्तिम प्रयास गरेको हो । सडकमा आएपछि त सरकारले सुनिदिएला कि भनेर यसो गरेको हो ।

संक्रमित बढ्न थाले र मानिसहरु मर्न थाले भने यो आन्दोलन सकिन पनि सक्छ । पछि के हुन्छ मलाई थाहा हुने कुरा भएन । पछि भयावह भयो भने त्यसको परिणाम सरकारले नै भोग्नुपर्छ । अहिले ६० प्रतिशत कामदारहरु बेरोजगार भएका छन् । मानिसको सेभिङ सकिएको छ । तर, वुहानको भन्दा बढी लकडाउन गरेर पनि तयारीको १० प्रतिशत काम पनि गर्न सकेनौं । लकडाउन त सरकारले दुरुपयोग नै गर्यो ।
पछि भयावह अवस्था आएपछि पनि त आन्दोलन होला नि त । मानिसहरुको रोजगार र सेभिङ छैन । यस्तो अवस्था बढ्दै गएपछि त मानिस सडकमा आउँछ आउँछ । यो कोभिड- १९ सरकारलाई हिरो बन्ने अवसर हो । सरकारले चाहेको भए त नेशनल कोभिड १९ रिलिफ फण्डमा नै १ पोइन्ट ३ बिलियन डलर छ ।
यो कुरा अर्थमन्त्री युवराज खतिवडाले स्वयं भन्नुभएको छ। त्यसमा ४ सय ७० मिलियन डलर स्थानीय स्रोतबाट जुटेको हो । बाँकी सबै त विदेशबाट लोन लिएको हो । भोलि त्यसको बोझ त युवाहरुलाई पर्नेवाला छ। त्यत्रो पैसा छ । तर, किन परिचालन नगरेको ?
हरेक जिल्लामा पीसीआर मेसिन राख्न सक्ने क्षमता छ । भीटीएम नभएर टेस्ट रोकिएको छ । एउटा फ्लु सिजनमा संसारभर ६० मिलियन भीटीएम खपत हुन्छ । भीटीएम त सामान्य कुरा हो नि । स्वाब निकालेको १० दिनपछि रिपोर्ट आउँछ भने भद्रगोल क्वारेण्टिनमा बसेको मानिसलाई के बित्ला ?
किन आरडीटीले पोजेटिभ देखियो भने मात्र पीसीआर गर्ने भनिएको छ ? आरडीटीले त पुरानो संक्रमण मात्र देखाउँछ भन्ने सबैलाई थाहा भइसकेको छ। एक्टिभ इन्फेक्सन जसले अरुलाई सार्न सक्छ त्यो संक्रमण त पीसीआरले मात्र देखाउँछ । त्यो चेन अफ ट्रान्समिसन ब्रेक गरेर पोजेटिभ मानिसलाई आइसोलेट गर्यो भने त संक्रमण फैलिन्न ।
यो सबै कुरा बुझेर पनि सरकारले किन बुझ पचाइरहेको छ। यत्रो मिडिया र जनस्वास्थ्य विज्ञहरु बारम्बार यही कुरा राख्दा पनि नसुन्ने भनेपछि त लकडाउन खोल्नु र नखोल्नुको के अर्थ भयो र ? निराशा र डर मात्र थोपरिने भयो।
यो आन्दोलनपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरकारी मानिसहरुले हाम्रो साथीहरुसँग कुराकानी गरिरहेका छन्। उनीहरुको अनुसार सरकार आत्तिएको छ। थर्थर कामेको छ। उनीहरुले युवाको शक्तिलाई बुझ्न सकेनन् । युवाहरु यसरी स्वस्फुर्त आउलान् भनेर सोचेका थिएनन्। युवाहरुले यो इस्युलाई यसरी बुझ्न सक्लान् भन्ने उनीहरुले सोच्दै सोचेनन् ।
अनि केही आउटडेटेड पुस्ताहरुले चाहिँ कतैबाट परिचालन भएको हुनुपर्छ, कसैको मिसनमा हिँडेकोसम्म पनि भने । तपाई आफै भन्नुस् न अहिलेको नयाँ पुस्ताहरु जो आफै शिक्षित छन्, आफ्नो व्यावसाय गरेका छन् । यस्ता युवाहरु कसैले पैसा दिएर वा मासुभात खुवाएर आउलान् ?
उनीहरु विषयको गम्भीरता बुझेर आएका हुन् । युवाहरुको आवाजलाई अहिले सम्बोधन गरिएन् भने फ्रस्टेशन बढ्दै जान्छ । कतैबाट परिचालित अभियान हो भनेर समस्या ‘एड्रेस’ गरिएन भने त्यसको असर पछिसम्म पर्नसक्छ ।
अहिले हामीले सरकारको काम गराई र कोभिड १९ जिवन मरणको सवाल हो भनेर बुझ्नुपर्छ। यहाँ म ओली सरकार वा प्रधानमन्त्री मात्र असफल भयो भनेर भन्दिन्। यहाँ नेकपा असफल भयो, नेकपाको सचिवालय असफल भए ।
ओली जति असफल भए प्रचण्ड, माधव नेपाल लगायतका अन्य नेताहरु पनि त्यति नै असफल भए । किनभने जीवन र मरणको सवाललाई उनीहरुले महत्व दिन सकेनन् । जनस्वास्थ्य विज्ञहरुको कुरा र अन्य देशको अवस्थालाई गम्भीरतापूर्वक लिन सक्ने नेतृत्व भएन ।
यो त सत्ता पक्षको कुरा भयो। अपोजिसन पनि असफल भएकै हो । शेरबहादुर देउवा के गरिरहेका छन् ? नेपाली कांग्रेस के गरिरहेको छ ? जनता सडकमा आएपछि मात्रै सदनमा फाट्फुट्ट आवाज उठेको छ । यो भन्दा अगाडि गगन थापा र अरु केही फाट्टफुट्ट सांसदले मात्र यी कुराहरु उठाएको देखेको थिएँ । तर, त्यो आवाज पनि सरकारले सुनेन ।
राप्रपा छ, अरु दलहरु छन्। विकेकशील छ। साझा पार्टी छ। अहिलेको समयमा त सबै दलहरुले मिलेर आवाज उठाउनु पर्ने हो नि। फेरि मैलै सबैजना सडकमा आउनुपर्छ भनेको होइन । ‘जनस्वास्थ्य विज्ञहरुको कुरा सुनौ, अन्तर्राष्ट्रिय अनुभवहरु हेरौं । अनि त्यसपछि नेपालमा के गर्नु पर्ने रैछ गरौ’ भनेर सबै दलले संयुक्त रुपमा आवाज नउठाएको देखेर मलाई दुई वटा कुरा लागेको छ। पहिलो, कि त यो नेतृत्व वर्ग नै एकदमै आउटडेटेड भयो। दोस्रो, कि त हामी जनताले नै यस्ता जनप्रतिनिधि डिजर्भ गर्दा रहेछौं । किनभने आफ्नो जनप्रतिनिधिलाई जवाफदेही बनाउने भनेको त जनताले हो नि ।
जनताको यस्ता माग राखेर अभियानमा सक्रिय भइरहँदा मलाई धेरैले राजनीति गर्ने बाटो बनाइरहेको भनेर पनि आरोप लगाउँदा रहेछन् । यस्ता अभियानमा सहभागी हुँदा प्रोपोगाण्डा गरेको भन्दा रहेछन् । तर, मेरो कुरा प्रष्टै छ। मलाई कहिँ कतै बाँधिन मन छैन । मलाई कहिँ कतै जरा गाड्न मन छैन। मेरो प्रष्ट विचार के हो भने ३० वर्षसम्म संसार घुमेर बस्छु। नयाँ ठाउँ जान्छु, नयाँ मान्छे भेट्छु, नयाँ कुराहरु सिक्छु। अनुभवहरु बटुल्छु। मलाई गर्न मन लागेको कुरा यिनै हो।
मलाई अर्को गगन थापा या अरु कुनै नेता बन्न मन छैन । अहिले अति भएर मात्र म बोलेको । सप्पै गलत कुराहरु भएको देखेर एउटा नागरिकको हिसाबले बोलेको हुँ । यत्रो महामारीमा यस्तो भद्रगोल नभएको भए मैले बोल्नुपर्ने आवश्यकता नै थिएन ।
मैले यसको धेरै गम्भीरता बुझे र महशुस गरेर मात्रै अग्रसर भएको हुँ । मलाई राजनीति गर्नु र नेतृत्व लिनु छैन। मलाई नयाँ ठाउँ घुम्नु, सिक्नु र नयाँ कुराहरुको अनुभव बटुल्नु छ। मलाई म हुनु छ ।
प्रस्तुति – सागर बुढाथोकी
तस्वीर : शंकर गिरी




















