काठमाडौँ। नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा अभिनय गर्ने भएकी छिन् । एक अमेरिकन समूहले अङ्ग्रेजी भाषामा निर्माण गर्ने फिल्ममा उनी अनुबन्ध भएको बताइएको छ । उनी अडिशन मार्फत चलचित्रको मुख्य पात्रमा चयन भएकी बताइएको छ ।
उनले अभिनय गर्ने उक्त चलचित्रमा अन्य कलाकार हलिउडकै हुने भएता पनि नेपालबाट अर्की नायिका केकी अधिकारीको पनि अभिनय रहने भएको छ। उनलाई पनि अडिसन मार्फत नै छनोट गरिएको हो । स्वस्तिमा र केकीसँगै अन्य केही नायिकाहरूले पनि अडिसन दिएका थिए ।
नेपाली कथानक चलचित्र होस्टेल रिटर्न्स बाट नेपाली चलचित्र क्षेत्रमा आफ्नो करियर शुरु गरेकी स्वस्तिमाले हालसम्म अभिनय गरेको चलचित्रहरू दर्शकले रुचाइरहेका छन् । पछिल्लो समयको उनको चलचित्र बुलबुल पनि दर्शकले निकै रुचाएका थिए । उनले चलचित्र बुलबुल बाटै राष्ट्रिय अवार्ड समेत हात पारेकी थिइन् ।
नेपाली कथानक चलचित्र पदार्पण स्वरबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी केकी अधिकारीले पनि धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल, कोहलपुर एक्सप्रेस र छ माया छपक्कैमा अभिनय गरिसकेकी छिन् । उनको छ माया छपक्कै लाई धेरै दर्शकहरूले रुचाएका थिए ।
चलचित्रको निर्माण पक्षको विषयमा भने अहिले सार्वजनिक गरिएको छैन। चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकामा नै हुने बताइएको छ । कोरोनाको त्रा-स सकिएलगत्तै चलचित्रको छायाङ्कन सुरु हुने भएको छ ।


