गोरखा समाचारदाता
वीरगञ्ज – वीरगञ्जको छपकैयामा हिजो (बुधबार) एकैदिन १७ जनामा कोरोना भाइरस संक्रमित भेटिएपछि केही क्षेत्रलाई सिल गरिएको छ ।
स्थानीय प्रशासनले कोरोना संक्रमित व्यक्तिहरु भेटिएका आसपासका क्षेत्रहरुलाई सिल गरिएको हो ।
सुरक्षा समितको बैठकले वीरगञ्ज महानगरपालिका ३ छपकैयाको पूर्वमा रजत जयन्ती चोक, इदगाहचौक, छपकैया बिट चोक, मालपोत चोक, पश्चिममा छपकैया बजार चोक, सर्सिया पुल चोक, सिर्सिया भन्सार क्षेत्र सिल गरेको हो ।
त्यस्तै उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चोक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वडा नम्बर १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गरिएको छ । सो क्षेत्रमा औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरिएको छ ।
बैठकले छपकैयामा भेटिएका १७ जनाको कन्ट्याक ट्रेसिङको कामलाई पनि तिब्रता दिएको छ ।
यस्तै महानगरको पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा बिहान ५ बजेदेखि साँझ साढे ७ बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयको पासको प्रयोग गरी सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।




















