गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ नेकपाको सचिवालय बैठकमा विवाद देखिए पछि प्रधानमन्त्री बैठकबाटै गायब भएका छन् ।
शनिवारको सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयनका विषयमा प्रधानमन्त्री केपी ओली र अन्य सदस्यबीच मतभेद भए पछि बैठक स्थलबाट नै उनी गायब भएका हुन् ।
भोलि (बिहिबार) बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेका बेला प्रधानमन्त्री ओला एकाएक गायव भएका हुन् ।
प्रधानमन्त्री गएपछि बैठकमा सहभागी भएका अरू नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहेको थिए । सहमति जुटाउनका लागि अर्का अध्यक्ष र प्रधानमन्त्री ओलीविच दिनभर भएका छलफल निस्कर्षमा पुग्न सकेन ।
प्रधानमन्त्री ओलीले कतिपय जिम्मेवारी हेरफेरलगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेन्डा बनाउन नसकिने, त्यसका लागि थप छलफल र अनौपचारिक गृहकार्य गर्नुपर्ने अडान राखेको बताइएको छ ।
त्यसमा दाहाल लगायतका बहुमत सदस्य सहमत भएका छैनन । स्थायी कमिटी बैठक भने भोली विहानका लागि बोलाइसकिएको छ ।
पछिल्लो समय सरकारले २ वटा अध्यादेश ल्याएपछि बढेको विवादसँगै नेकपामा स्थायी कमिटि बैठकको माग हुँदै आएको थियो । केही दिनअघि २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठकको माग गर्दै दुबै अध्यक्षलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।




















