गोरखा समाचारदाता
काठमाण्डौं – भारतीय नाका बिरगञ्जमा आज एकै दिनमा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बिरगञ्जमा यसअघि नै संक्रमित भेटिएकै स्थानमा कन्ट्रयाक ट्रेसिङ गर्ने क्रममा थप संक्रमित भेटिएको हो ।
यो संगै नेपालमा नोबल कोरोना भाइरस (कोडिभ–१०) संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज (बुधबार) एकैदिन पर्साको वीरगञ्जमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला छन् । संक्रमित हुनेमा २ महिने दुधे बालक देखि ६६ वर्ष उमेर समूहका मानिसहरु रहेका छन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी यसअघि कोरोना संक्रमण निको भएका ३ जनामा पुन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौंमा १ जना, पर्सामा १ जना र रौतहटमा १ जनाको पुनःसंक्रमण देखिएको हो । काठमाडौंमा संक्रमण देखिएकाको पाटन अस्पतालमा र अन्य २ को पर्सास्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।


