गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले ५ औं पटक लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।
बैशाख २५ गतेसम्म कायम रहेको लकडाउनलाई थप १० दिन बढाउने निर्णय बैठकले गरेको हो ।
संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने निस्कर्ष सहित समय थप गरिएको हो ।
हिजो बसेको कोरोना रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै अवधि थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
भाइरसको जोखिम फैलिन नदिन ११ चैतदेखि लकडाउन गराउँदै आएको छ । पछिल्लोपटक बैशाख १४ गते चौथोपटक थपिएको लकडाउन अवधि भोलि सकिँदै छ ।


