भारतमा सोमबारदेखि रक्सी पसलहरू खुल्न थालेका छन्। झन्डै ४० दिनपछि रक्सी पसल खुलेपछि किन्नेहरूको भीड लागेको थियो । भीड यति ठूलो थियो कि भौतिक दूरी कायम नगरेको भन्दै प्रहरीले राजधानी नयाँदिल्लीका रक्सी पसलअगाडि जम्मा भएका माथि लाठीचार्ज गर्नु परेको थियो ।
रक्सी किन्नेहरूको थामी नसक्नु भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि रक्सी किन्दा खुद्रा मूल्यको ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको छ। कोरोना शुल्क लगाएपछि दिल्लीमा मदिरा सेवन निरूत्साहित हुने दिल्ली सरकारको आशा छ ।
भारतमा कोरोनाभाइरसको संक्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको थियो। सोमबारदेखि त्यहाँ तेस्रो पटक थपिएको लकडाउन जारी छ । लकडाउनका बाबजुद भारतमा कोरोना संक्रमित भने तीव्र गतिमा फैलिरहेका छन्। मंगलबारसम्म भारतमा ४६ हजार ४ सय ३७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ मानिसको मृत्यु भएको छ।


