सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ ।
भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुयाइएको थियो । अस्पतालमा पुयाएपछि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजु दाहालले बताउनुभयो ।
शवको राजविराज अस्पतालमा परीक्षणपश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरुले झापाको चन्द्रगढी लगेको सशस्त्र प्रनाउ दाहालले जानकारी दिनुभयो ।
उच्च रक्तचापका कारण अचानक बेहोस भई मृत्यु भएको अनुमान गरिए पनि शव परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने उहाँले बताउनुभयो ।
( फोटो: फाइल)
बाराको विश्रामपुरमा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को कुटाइबाट १३ जना नेपाली घाइते भएका छन् । सीमा सिल भएको समयमा सीमा क्षेत्रमा रहेको खेतमा एकजना स्थानीय गएपछि स्थानीय र एसएसबीबीच विवाद भएको हो ।




















