गोरखा समाचारदाता
बाँके – नेपालगञ्ज उपमहानगरपालिकालाई ३ दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) सङ्क्रमितहरु बढ्न थालेपछि सर्वपक्षीय बैठकले आज (मंगलबार) बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यराति १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्तिबाहेक अरुलाई आवागमनमा पूर्णरुपमा रोक लगाइको छ ।
उक्त बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णयसमेत गरेको छ ।
नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि छिमेकी पालिकाहरुले अहिले अलि बढी नै सतर्कता अपनाएका छन् । डुडुवा गाउँपालिका, जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका पुर्ण रुपमा बन्द गरेका छन् ।


