गोरखा समाचारदाता
काठमाण्डौं – सरकारले देशभरमा नेपाल प्रहरी र शसत्र प्रहरीले दिदै आएको सुरक्षाको जिम्मेवारी अब नेपाली सेनालाई दिने निर्णय भएको छ ।
गृह मन्त्रालयले कारागार, ठूला विकास निर्माणस्थल, आयोजना तथा महत्वपूर्ण कार्यालयमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति सीमामा खटाउने भए पछि दुवै प्रहरीले दिदै आएको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिन लागेको हो ।
सीमा खटिएका सुरक्षाकर्मीको संख्या कम भएकाले सीमा अनुगमन प्रभावकारी नभएको र उनीहरूको सुरक्षा खतरा बढेपछि यस्तो निर्णय गरिएको हो । बैठकले सीमाबाट लुकिछिपि प्रवेश गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
त्यस्तै गृह मन्त्रालयले भारतमा फैलिदो नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाबीच त्यहाँ रहेका नेपालीहरुको सुरक्षाका बिषयमा भारत सरकारसँग छलफल गर्ने भएको छ । नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तिव्रता दिने निर्णय भएको हो ।
लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १ हजार २१३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।


