गोरखा समाचारदाता
महोत्तरी – महोत्तरीको जुडिबजारमा विषाक्त रक्सी सेवनबाट थप ३ जनाको ज्यान गएको छ ।
जिल्लाको बर्दिवास नगरपालिका १२ विजलपुराको जुडीबजारमा बिषाक्त रक्सी सेवन गर्दा ३ जनाको ज्यान गएको हो । यो सहित बिषाक्त रक्सी सेवन गरेर ज्यान गुमाउनेको सख्ंया १० पुगेको छ ।
मृत्यु हुनेमा बर्दिवास नगरपालिका १२ विजलपुराको जुडीबजारका ५५ वर्षीया मोमनीदेवी सर्दार र २६ वर्षीय सोपिन्द्र मण्डल र भारतको लखनपुरी जिल्लाको गोकुल गोकर्ण पंचायतका ५० वर्षिय मोतीलाल प्रजापति रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
मृतक सबैजना स्थानीय जयमाँ जुडी ईटाभट्टामा काम गर्ने मजदुर हुन् । उनीहरुको ज्यान जानु अघि अचानक पेट दुख्ने, झाडापखाला लाग्ने र बान्ता हुने लक्षण देखापरेको स्थानीयहरुले बताए ।
यसअघि भंगाहा नगरपालिका ७ स्थित मेघनाथ गोरहन्नाको नयाँबस्तीमा ७ जनाको ज्यान गएको थियो ।
उत्त बस्तीमा लगातार स्थानीयहरुको ज्यान जान थालेपछि स्वास्थ्य विभाग र इपिडेमियोलोजी महाशाखाबाट डा.अमृत पोखरेलको नेतृत्वमा टोली पुगेको छ । बिशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले स्थानीयको घरघरै पुगेर रोगबारे अध्ययन र बिरामीको उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उत्त टोलीमा विश्व स्वास्थ्य संगठनको चिकित्सक समेत रहेको छ ।




















