खाडी राष्ट्र कुवेतले त्यहाँ रहेका ४ हजार नेपाली कामदारलाई छिटो स्वदेश फिर्ता लैजान नेपाल सरकारलाई भनेको छ । लामो समयदेखि कुवेतमा अवैध तरिकाले बस्दै आएका ४ हजार नेपालीलाई कुवेत सरकारले छिटोभन्दा छिटो फिर्ता लैजान भनेको हो । कुवेतले फिर्ता गर्न लागेका नेपालीमा आधाभन्दा बढी महिला रहेका छन् । ‘कुवेतले अवैधरुपमा रहँदै आएका ४ हजार नेपालीलाई तत्काल फिर्ता गर्न चाहेको छ । कुवेतस्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारलाई आफ्नो सन्देश कुवेतले दिइसकेको छ,’ गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए, ‘फिर्ता हुनेमा आधाभन्दा बढी महिला कामदार छन् ।’
‘दुधे बालक काखीमा च्यापेर आउनेको संख्या पनि करिब दर्जन थियो।’ कुवेतले फिर्ता लागेको ४ हजार नेपालीमा ९ जना बालबालिकासहितका महिला छन्, जुन बालबालिकाको बाबु को हुन् थाहा हुन सकेको छैन।’ कुवेत सरकारले ७ हजार नेपाली अवैधरुपमा बस्दै आएको बताए पनि अहिले भने ४ हजार नेपालीको पहिचान गरेको छ । पहिचान गरिएका ४ हजार नेपालीलाई कुवेत सरकारको प्रत्यक्ष निगरानीमा तीन–चार वटा क्याम्प (शिविर)मा थुनेर राखिएको छ । ‘कुवेत सरकारले तीन–चार वटा क्यम्पमा फिर्ता हुने नेपालीलाई राखेको छ । क्याम्पभित्रको खान र बस्ने सम्पूर्ण खर्च कुवेत सरकारले व्यहोरेको छ । यसरी लामो समय क्याम्पमा पालेर राख्न सक्दैन । त्यसैले कुवेतले छिटोभन्दा छिटो फिर्ता गर्न चाहेको छ,’ केसीले भने ।
वैधानिकरुपमा रहेका नेपाली कामदारलाई भने कुवेतले फिर्ता नगर्ने बताएको छ । कुवेतमा ७० हजार नेपाली कामदार वैधानिकरुपमा रहेको अनुमान छ ।कुवेत सरकारकाले केही साताअघि अवैधरुपमा रहेका आप्रवासी कामदारलाई घर फर्कन सजिलो होस् भनेर ‘एम्नेस्टी’ (आममाफी)को आह्वान गरेको थियो । यसरी आह्वान गरिएको आममाफी पाउने समय बिहीबार समाप्त भएको छ । बिहीबारसम्म ४ हजार नेपालीको पहिचान भएको हो । अवैधरुपमा रहेका ४ हजार नेपालीलाई कुवेतस्थित नेपाली दूतावासले स्वदेश फर्किनको लागि ‘ट्राभल डकुमेन्ट’ (यात्रा अनुमतिपत्र) समेत उपलब्ध गरेको छ । सबैलाई दूतावासमा बेलाई ट्राभल डकुमेन्ट दिइएको थियो ।
‘चार हजार गैरकानुनी कामदारको ड्राभल डकुमेन्ट बनाउन र प्रक्रियामा लैजान निकै चुनौतिपूर्ण थियो । पासपोर्ट, नागरिकता र स्वयंको फोटोसमेत नभएका अर्थात् कुनै पनि कागजात नभएका, उनीहरुमध्ये अधिकांश मालिकको घरबाट भागेका महिला कामदारहरु थिए,’ केसीले जानकारी दिए, ‘दुधे बालक काखीमा च्यापेर आउनेको संख्या पनि करिब दर्जन थियो ।’ कुवेतले फिर्ता लागेको ४ हजार नेपालीमा ९ जना बालबालिकासहितका महिला छन्, जुन बालबालिकाको बाबु को हुन् थाहा हुन सकेको छैन । ‘नेपाल फिर्ता पठाउँदा सबै जनामा कोरोना भाइरस भए–नभएको स्वास्थ्य परीक्षण गरेर पठाइने जनाइएको छ । तर नेपाल पुगेपछि भने उनीहरुलाई राख्ने क्वारेन्टाइनको व्यवस्था हुनुपर्छ’ कोरोना भाइरस (कोभिड–१९)का कारण कुवेतमा कफ्र्यु लगाइएको बेला पनि अवैध रुपमा रहेका नेपाली ट्राभल डकुमेन्ट लिन दूतावास पुगेका थिए ।
ट्राभल डकुमेन्ट वितरण गर्न दूतावासको कर्मचारीले नभ्याएपछि एनआरएनए कुवेतका पदाधिकारीले सघाएका थिए । ‘शिविरमा पस्न नपाएर भोकै बस्न बाध्य भएका करिब ३ सय जना नेपालीलाई नेपाली दूतावासको प्रत्यक्ष सहयोगमा खान खुवाइएको थियो,’ उनले भने । दूतावासबाट शिविर रहेको स्थान फर्वानिया जान आउनको लागि यातायातको ब्यावस्था गरिएको थियो । दूतावासमै फोटो खिचेर निकाल्ने र कागजात प्रिन्ट तथा फोटोकपी गर्ने सुविधा दिइएको थियो ।यसपटक आह्वान गरिएको आममाफीमा कुवेतले अवैध रहेका कामदारलाई विशेष सुविधा दिने घोषणा गरेको थियो ।
असअघिको आममाफीमा फिर्ता हुनेहरु पुनः कुवेत फर्कन पाउने थिएनन्, तर यसपटक फर्किनेहरु पुनः श्रम स्वीकृति लिएर वैधानिक तरिकले कुवेत जान पाउनेछन् । त्यतिमात्र होइन शिविरमा बस्दासम्मको सम्पूर्ण खर्च र जहाज चढेर काठमाडौं पुग्दासम्मको सम्पूर्ण खर्च कुवेत सरकारले व्यहोर्ने जनाएको छ । ‘नेपाल फिर्ता पठाउँदा सबै जनामा कोरोना भाइरस भए–नभएको स्वास्थ्य परीक्षण गरेर पठाइने जनाइएको छ । तर नेपाल पुगेपछि भने उनीहरुलाई राख्ने क्वारेन्टाइनको व्यवस्था हुनुपर्छ,’ केसीले भने ।




















