गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक बोलाइएको हो ।
बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए ।
प्रधानमन्त्री केपी ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो ।
दाहाल(नेपाल समूहले आजको बैठकमा ओलीमाथि दवाब बनाउन राजीनामाको मिति ‘माइन्युट’ गर्न दवाव बनाउने तयारी गरेका छन् ।
ओलीले राजीनामा दिन्छु भनिसकेको हुँदा राजीनामाको मिति र त्यसपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे लिखित निर्णय गर्न प्रधानमन्त्रीलाई दवाब दिने तयारी सो समूहको छ ।
सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । त्यसैगरी दाहाल नेपालले पनि विभिन्न नेतासँग परामर्श गरेका छन् । नेकपाभित्र दुवै समूहले संसदीय दलका बहुमत पुर्याउन हस्ताक्षर अभियान समेत चलाएका छन् ।
पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टी्भित्र विवाद र गुटबन्दी चर्केको हो ।




















