गोरखा समाचारदाता
काठमाण्डौं – महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका दर्ता गराएका छन् ।
आफुलाई अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै उनले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता नभए पछि आज आयोगमा निवेदन दिएका हुन् ।
पुल्चोकस्थित मानव अधिकार आयोग पुगेका सांसद यादव सहितको टोलीले डा.यादवलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन् ।
सांसद यादवले दिएको निवेदनमा सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ भनिएको छ । निवेदनमा सांसद बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नु भनेका छन् ।
सांसद बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनालले सांसद यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए । सांसद यादवले दिएको निवेदन आयोगले बुझेको छ ।


