भारत र नेपालमा कोरोना सङ्क्रमणको आतंक बढ्न नदिन लकडाउन गरिएपछि भारतमा रोजगारी गर्दै आएका हजारौं नेपालीहरुका रोजगार बन्द भएपछि आफ्नै देश फर्कन लागेका सयौको संख्यामा नेपालीहरुलाई भारत पिथौरागढको धार्चुलामा रहेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुलाई बिहीबारबाट (आज) उद्धार गर्न थालिएको एक स्रोतले बताएकाे छ ।
लकडाउन गरिएपछि आफ्नै देश आउन नपाएका मजदुरहरुलाई बिहीबार विहानैदेखि सहमति अनुसार नै उद्धार शुरू गर्न थालिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी गराउनु भयो । गएको चैत्र १३ गतेदेखि भारत पिथौरागढ धार्चुलाका ५ क्वारेन्टाइनमा १ हजार भन्दा धेरै नेपालीहरु १ महिनादेखि बसिरहेका थिए। यहाँ फसेर बसेका हरुलाई नेपाल झिकाउनका लागि बैतडी र बझाङका प्रतिनिधिहरी दार्चुला पुगेका थिए ।
उनीहरूलाई यहाँबाट उद्धार गरेपछि सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा राखिएको पनि बताइएको छ। उक्त मजदुरहरुलाई सीमा क्षेत्रमा चेकजाँच गरेपछि मात्र प्रवेश दिइने बताइएको छ। उनीहरूलाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउन लागिएको बताइएको छ ।


