गोरखा समाचारदाता
रौतहट – रौतहटको वृन्दावन नगरपालिका ९ भुसहाका कोरोना संक्रमित युवकको खोजी कार्य शुरु गरिएको छ ।
संक्रमित ति युवक भारतको कलकताबाट आएर रौतहटको चन्द्रपुरमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्कि ब्यक्ति हुन् ।
क्वारेन्टाइनबाट घर फर्किएपछि नतिजा पोजेटिभ देखिए पछि उनी अहिले वेपत्ता भएको रौतहट प्रहरीले जनाएको छ । काठमाडौंबाट गएको चिकित्सकहरुको टोलीले बैशाख १२ र १३ गते रौतहटमा रहेको ८ क्वारेन्टाइनबाट ७ महिला सहित ८३ जनाको स्वाबको नमूना परिक्षणको लागी टेकु लगेको थियो ।
सोही क्रममा टेकुमा गरिएको परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनबाट घर फर्किसकेका ती युवकले कति मान्छे संग भेटघाट गरे यकिन गर्न कठिन भएको छ ।
उनीसहित रौतहटका दुई जनामा कोरोना संक्रमण भेटिएको छ । अर्का संक्रमित व्यक्ति देवाही गोनाही नगरपालिका १ का पुरुष हुन् । देवाहीका संक्रमित ३५ वर्षीय पुरुष भने हाल क्वारेन्टाइनमै रहेका छन् ।
संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेका थिए ।


