करिब एक महिनाभित्र विश्वका थुप्रै चर्चित स्टारहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । हलिउड अभिनेता टम ह्यांक्सदेखि बेलायती अभिनेता प्रिन्स चार्ल्स, बास्केटबल खेलाडी केभिन डुरन्ट, टिभी होस्ट एन्डी कोहेनलगायतलाई समेत यो भाइरसले छोडेन । माथि बायाँबाट जोन प्राइन, मनु डिबान्गो, ली फिएरो र तल बायाँबाट केन सिमुरा, वालेस रुनी र जो डिफी केहीले त ज्यानै गुमाए। हामी यहाँ तीनै चर्चित सेलिब्रेटीको चर्चा गर्दैछौं, जसले कोरोनासँगको लडाइँ जित्न सकेनन्।
जोन प्राइन
कोभिड–१९ का कारण ज्यान गुमाउने सेलिब्रेटीको सूचीमा गायक जोन प्राइन पनि पर्छन्। पाँच दशकदेखि संगीत क्षेत्रमा सक्रिय उनले ७३ वर्षको उमेरमा कोरोना संक्रमणका कारण ज्यान गुमाए। मार्च २६ मा अस्पताल भर्ना भएका प्राइनको अप्रिल ७ गते कोरोनासँग संघर्ष गर्दागर्दै निधन भएको थियो । ग्रामी अवार्ड जितेका प्राइनलाई ७० वर्षको हुँदा क्यान्सर लागेको थियो। उनको निधनपछि गायिका सेरल क्रोले ट्विटरमा लेखेकी थिइन्, ‘तिमी सधैं सम्झनामा रहिरहनेछौ र तिम्रा गीतहरु सँधै जीवित रहिरहनेछन्।’ प्राइनका ‘साम स्टोन’, ‘हेल्लो इन दियर’, ‘एन्जेल फ्रम मोन्ट्गोमेरी’, ‘जिसस द मिसिङ इयर्स’ लगायतका चर्चित गीत रहेका छन्।
मनु डिबान्गो
त्यस्तै कोरोना संक्रमणबाट ज्याज गायक मनु डिबान्गोको मृत्यु मार्च २४ मा भएको हो। ‘यो अत्यन्तै दुखद समाचार हो। हामीले हाम्रो प्रिय गायक मनु डिबान्गोलाई गुमाएका छौं,’ ज्याज ग्रेट अफिसियल पेजबाट उनको मृत्यु पुष्टि गरिएको थियो। सेक्सोफोनिस्टसमेत रहेका गायकको मृत्यु पेरिस नजिकको एक अस्पतालमा भएको थियो।
ली फिएरो
‘जअज’ अभिनेत्री ली फिएरोले अप्रिल ५ मा कोरोनाकै कारण ज्यान गुमाएकी हुन्। उनी ९१ वर्षकी थिइन् । उनले आयरल्याण्ड थिएटर वर्कसपमा नाटक प्रशिक्षक पनि थिइन् । हजार जना विद्यार्थीलाई वर्कसपमा उनले पढाएकी थिइन् । स्टेभन स्पिलवर्गको ‘जअज’मा उनले एलेक्स किन्टरको आमाको भुमिका निभाएकी थिइन् । फिल्मबाट उनको अभियनको निकै तारिफ भएको थियो। फिएरोका पाँच सन्तान छन् । अभिनेत्री ली फिएरोले ‘जअज’, ‘जअज : द रिभेन्ज’ र ‘द मिस्टओभर टेल’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन् ।
एडम स्लेससिंगर
संगीतकार एडमको मृत्यु ५२ वर्षको उमेर गत अप्रिल १ मा भएको हो । तीन वटा ग्रामी अवार्ड जितेका उनले कयौं टेलिभिजन सोका लागि गीत पनि लेखेका थिए । उनी १९९७ को ‘द्याट थिङ यु डु’ फिल्मका लागि लेखेको गीतबाट ओस्कार मनोनयमा पनि परेका थिए। उक्त फिल्मलाई टम ह्यांक्सले निर्देशन गरेका थिए । उनको मृत्युको खबर पाएपछि ह्यांक्सले ट्वीटरमा लेखेका थिए, ‘कोभिड–१९ का कारण तिमीलाई गुमायौं । एकदमै दुखित छु आज ।’
मार्क ब्लम, ६९
सन् १९८५ को आइकनिक फिल्म ‘डेस्पेरेट्ली सिकिङ सुजन’मा म्याडोनाको अपोजिटमा मार्कले अभिनय गरेका थिए। ६९ वर्षीया मार्कले मार्च २६ मा संसार त्यागे । प्लेराइट होरिजन्सले उनलाई धन्यवाद दिादै ट्वीटरमा लेखेका थिए, ‘थियटर र संसारभरको दर्शकमा तिमीले जे गुण लगायौं । त्यसका लागि धन्यवाद । हामी तिमीलाई सम्झिरहने छौं ।’
टेरेन्स म्याकन्याली, ८१
चारपटक टोनी अवार्ड जितेका नाटककार टेरेन्स म्याकन्यालीको मृत्यु गत मार्च २४ मा भएको हो। ‘किस अफ दि स्पाइडर वुमन’, ‘ऱ्यागटाइम’, ‘लभ ! भ्यालर ! कम्प्यासन !’ र ‘ मास्टर क्लास’ उनले लेखेका नाटकहरु हुन् । ८१ वर्षको उमेरमा उनको पनि कोरोनाकै कारण मृत्यु भएको हो ।
जो डिफी, ६१
कोरोनाको कारण ज्यान गुमाउने अर्का गायक हुन्, जो डिफी । उनले ६१ वर्षको उमेर मार्च २९ मा संसार छोडेका हुन्। कन्ट्री सिंगर डिफीले आफूलाई कोरोना लागेको स्वीकारेको २ दिनमै उनको मृत्यु भएको थियो । उनी नब्बेको दशकमा निकै चर्चित थिए । ‘हंकी टंक’, ‘प्रप मि अप बिसाइड द जुकबक्स(इफ आई डाई)’, ‘बिगर देन द बिटल्स’ र ’इफ द डेभिल डान्स’ उनका चर्चित गीतहरु हुन् । कन्ट्री संगीत नरुचाउनेले पनि उनको ’होम’ बोलको गीत सुन्न मन पराउँथे । चौथौ विवाहबाट उनका सात सन्तान छन् ।
केन सिमुरा, ७०
जापानी कमेडियन केन सिमुराले ७० वर्षको उमेर मार्च २७ मा संसार त्यागे। जापानी कलाकार केनलाई धेरैले जापानी रबिन विलियम्स भन्थे। मार्च २० मा उनलाई अस्पताल भर्ना गरिएको थियो । मार्च २४ मा उनलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो। सन् १९७४ मा उनी जापानको कमेडी ग्रुप्स ड्रिफ्टर्ससँग जोडिएका थिए । सिमुराले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा’(मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका)लगायतका निकै मन पराइएका चरित्र निभाएका थिए । शिमुराले अमेरिकी कमेडियन जेरी लेविसबाट प्रेरणा पाएको पनि आफ्नो संस्मरणमा उल्लेख गरेका छन् ।
एलान मेरल, ६९
‘आई लभ रक एन्ड रोल’को शब्द रचना गरेका संगीतकार एलान मेरलको मृत्यु मार्च २९ मा भएको हो । उनकी छोरी लोरा मेरलले उनको मृत्युको पुष्टि गरेकी थिइन् । ‘उहाँलाई बाई–बाई भन्न मलाई २ मिनेट दिइएको थियो,’ लोराले फेसबुकमा लेखेकी थिइन, ‘यो कसरी सम्भव हुन सक्छ, केही दिनअघि म उहाासँग एउटै स्टेजमा थिएँ । उहाँको नयाँ एल्बमका लागि भर्खर नयाँ तस्बिरहरु खिचाइएको थियो ।’
जुली बेनेट, ८८
आफ्नो ८८ औं जन्मदिनको दोस्रो दिन अभिनेत्री जुली बेनेटले कोरोनासँग संघर्ष गर्ने क्रममा प्राण त्यागिन् । ‘द योगी बियर सो’ सिन्डी बियर पात्रको लागि आवाज दिएकी थिइन्। क्यालिफोर्नियामा मार्च ३१ मा उनको मृत्यु भएको थियो । ‘गार्फफिल्ड एण्ड फ्रेन्डस’, ‘स्पाइडर म्यान, द एनिमेटेड सिरिज’ मा आवाज दिएकी उनी प्रतिभाशाली कलाकार थिइन् ।
जे बेनेडिक्ट, ६९
‘एलियन्स’ र ‘दी डार्क नाइट राइजेज’मा अभिनय गरेर चर्चामा आएका बेनेडिक्टको मृत्यु ४ अप्रिलमा भएको हो। ६९ वर्षीय बेनेडिक्ट थुप्रै फिल्ममा अभिनय गरेका छन्। उनले विभिन्न डकुमेन्ट्री, विज्ञापन र भिडियो गेममा आवाज दिएका छन्। उनको आवाजलाई धेरैले रुचाउँथे।
एलेन गार्फिल्ड, ८०
भेट्रान एक्टर एलेन गार्फिल्डको कोरोनाकै कारण ८० वर्षको उमेरमा मृत्यु भएको हो। ७० को दशकमा द ‘कन्जरभेसन’, ‘न्यासभिले’मा अभिनय गरेका गार्फिल्डको मृत्युका बारेमा उनकी बहिनी लुइजले जानकारी दिएकी हुन्। उनको मृत्यु अप्रिल ७ मा लस एन्जलसमा भएको हो।
वालेस रुनी, ५९
अमेरिकाका चर्चित ट्रम्पेटवादक तथा ज्याज संगीतकार वालेस रुनीको कोरोना भाइरसको संक्रमणबाट गत मार्च ३१ मा मृत्यु भयो। उनको उपचारका क्रममा न्यु जर्सीको सेन्ट जोसेफ युनिभर्सिटी मेडिकल सेन्टरमा मृत्यु भएको हो। उनी ५९ वर्षका थिए । रुनीको निधनमा शोक व्यक्त गर्द अर्का अमेरिकी ज्याज संगीतकार माइल्स डेभिसले रुनी विश्वभरका जाज समुदायका लागि प्रेरणाको स्रोत रहेको र उनको निधनले आफूलाई मर्माहत बनाएको बताएका थिए । रुनीले सन् १९९५ मा ग्रामी अवार्डसमेत प्राप्त गरेका थिए । ४० वर्षको सांगीतिक करियरमा उनले २० भन्दा बढी एल्बम निकालेका छन् । उनको पछिल्लो सांगीतिक एल्बम ‘ब्लू डन, ब्लू नाइट्स’ हो ।


