कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालका लागि नयाँ प्रजातिको सर्प भेटिएको छ । निकुञ्ज क्षेत्रभित्र पाइने सरिसृपको अध्ययनका क्रममा भाइल स्नेक प्रजातिको ‘लहरे सर्प’ भेटिएको हो । यो सर्प पहिलपटक भारतको उडिसा र राजस्थानमा फेला परेको सर्प विज्ञ प्राध्यापक करनबहादुर शाहले बताए । शुक्लाफाँटामा निकुञ्ज क्षेत्रभित्र भेटिएको यो सर्पको अंग्रेजी नाम लौडांक र वैज्ञानिक नाम अहेतुला लौडांकिया छ । लौकाको सुकेको लहरा जस्तो हुने भएकाले यसलाई उडिसा भाषाबाटै नामकरण गरिएको प्राध्यापक शाहले जानकारी दिए । उनले भने,’भारतको उडिसामा लौकालाई लौडांक भन्ने गरिएकाले यसको वैज्ञानिक नाम पनि अहेतुला लौडांकिया राखिएको हो ।’
यो सर्पको विषालु दाँत बंगाराको पछिल्लो भागतिर हुन्छ। यसले अन्डा नपारेर सिधै बच्चा जन्माउने प्राध्यापक शाहले जानकारी दिए। उनका अनुसार रुखमा बस्ने भएकाले यो सर्प खैरो रंगको हुन्छ। यस्तै, हरियो रंगको यस्तै किसिमको अर्को सर्प हुने र उक्त सर्प ‘सुगा सर्प’ रहेको उनले सुनाए। यसैबीच शुक्लाफाँटा निकुञ्जमा १४ प्रजातिका सरीसृप भेटिएको छ। ती मध्ये लहरे सर्प नेपालकै लागि पहिलो पटक भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्षमणप्रसाद पौड्यालका अनुसार निकुञ्जमा ४ प्रजातिका उभयचर र १४ प्रजातिका सरीसृप भेटिएका छन्।
शुक्लाफाँटामा पाइने ३० प्रजातिको सर्पमध्ये ५ प्रजातिका मात्रै विषालु छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विभिन्न ४ परिवारका विभिन्न १५ प्रजाति उभयचर र १७ परिवारका ५६ प्रजाति सरीसृप रहेको र यसबारे जर्नल अफ थ्रिटेन्ड टेक्सामा समेत प्रकाशित भएको छ । यस्तै निकुञ्जमा गरिएको सरिसृप तथा उभयचरको अध्ययनका क्रममा १५ प्रजातिका भ्यागुतामध्ये ४ नयाँ, ९ प्रजातिका कछुवामध्ये १ नयाँ, ४ प्रजातिका छेपारोमध्ये १ नयाँ, ६ प्रजातिका भानेमुङ्ग्रोमध्ये १ नयाँ र ३० प्रजातिका सर्पमध्ये ११ नयाँ रहेका छन् ।
‘निकुञ्जमा उभयचर र सरीसृप गरी ७१ प्रजाति अभिलेख गरिएको छ,’प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘जुन नेपालको अन्य कुनै संरक्षित क्षेत्रको तुलनामा धेरै हो।’ शुक्लाफाँटामा मात्रै अभिलेख भएको शुक्लाफाँटा छेपारोसमेत छ, जुन नेपालमा अन्त पाइँदैन । अध्ययनका क्रममा नेपालको सबैभन्दा छोटो अन्धो सर्प र सबैभन्दा लामो अजिंगरसमेत यही भेटिएको छ । यस्तै निकुञ्जले हालै गरेको अध्ययनअनुसार यहाँ ५६ बढी प्रजातिको स्तनधारी र साढे ४ सय प्रजातिका चराचुरुंगी छन्। ‘चरा र स्तनधारीसँगै उभयचर र सरीसृपका लागि पनि यो निकुञ्ज उपयुक्त बासस्थान हो,’पौड्यालले भने ।




















