लन्डनस्थित नेपाली दूतावासले सोमबार कोभिड–१९ बाट प्रभावित यहाँका भूतपूर्व गोर्खाहरूलाई सहयोग उपलब्ध गराइदिन बेलायत सरकारलाई पत्राचार गरेको छ । सरकारका अधिकारीहरूलाई लेखिएको पत्रमा बेलायतमा रहेका नेपालीमध्ये भूतपूर्व गोर्खा वृद्धवृद्धा र उनीहरूका परिवार कोरानाले बढी प्रभावित भएकाले यथाशक्य चाँडो आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।
कोरोनाले पूर्वगोर्खाहरूको मृत्युदर पनि उच्च रहेको, उनीहरू भाषागत र अस्पताल तथा अत्यावश्यक सामग्रीमा न्यून पहुँचजस्ता समस्याबाट गुज्रिरहेको तर्फ दूतावासले सरकारको ध्यानाकर्षण गराएको छ। बेलायतमा हालसम्म कोरोना संक्रमणले ३४ नेपालीको मृत्यु भएकामा २६ जना पूर्वगोर्खा छन्।
राजदूत दुर्गाबहादुर सुवेदीले बेलायतको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रस्टका पदाधिकारीलाई समस्याबारे ध्यानाकर्षण गराउनुका साथै दूतावासले समेत आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको उपनियोग प्रमुख शरदराज आरनले जनाए। दूतावासले पूर्वगोर्खाहरूका लागि नेपाली भाषामै जानकारी र परामर्श उपलब्ध गराउन तथा अस्पताल र औषधिको पहुँच सहज बनाउन बेलायत सरकारलाई आग्रह गरेको उनले बताए।
दूतावासले गोर्खा वेलफेयर ट्रस्टलाई आवश्यक खाद्यान्न व्यवस्थापन र उसबाट प्रदान हुने अन्य सहयोगमा पनि सहजीकरण गरिदिन आग्रह गरेको छ। बेलायतमा पूर्वगोर्खाहरूको संख्या करिब २० हजार छ। समान पेन्सन पाए उनीहरूमध्ये अधिकांश नेपाल नै फर्कने मनस्थितिमा रहेको गोर्खा संगठनहरूले बताउँदै आएका छन्।




















