गोरखा समाचारदाता
रौतहट – रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
वृन्दाबन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
भारतको कलकताबाट आएर रौतहटको चन्द्रपुरमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका भुसहाका २५ वर्षिय पुरुषको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको हो ।
आरडिटी र जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको परिक्षणमा नतिजा नेगेटिभ देखिएपछि उनी घरमै बस्दै आएका थिए । तर केन्द्रीय प्रयोगशाला टेकुको परिक्षण नतिजाले उनलाई पोजेटिभ देखाएको हो ।
देवाही गोनाही १ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । संक्रमित ३५ वर्षीय पुरुष हाल क्वारेन्टाइनमै रहेका छन । उनको स्वाब परिक्षको नतिजा पोजेटिभ आए पछि थप सर्तकता बढाइएको छ ।
नतिजा पोजेटिभ देखिएका भुसहाका व्यक्तिको खोजी कार्य शुरु भएको छ । क्वारेन्टिनबाट घर फर्किएपछि नतिजा पोजेटिभ आएकोले स्थिती त्रासपूर्ण बनेको छ ।
काठमाडौंबाट गएको चिकित्सकको टोलीले बैशाख १२ र १३ गते रौतहटको ८ क्वारेन्टाइन बाट ७ महिला सहित ८३ जनाको स्वाबको नमूना परिक्षणको लागी टेकु लगेको थियो ।
संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको जानकारी प्राप्त भएको छ ।


