काठमाडौँ — ज्याकी च्यानका एक्सन फिल्म निकै मन पराउथे, निखिल उप्रेती । उनका साथीहरु पनि ज्याकीकै फ्यान । ज्याकी फ्यान समूह नै थियो । ज्याकीको एक्सन अभ्यास गर्थे । एकदिन छतमा निखिल आफ्ना साथीहरुलाई ज्याकीका मार्सल आर्ट देखाउनमा मस्त थिए ।
मार्सल आर्ट देखेर साथीको घरमा डेरा बस्दै आएका कलाकार पवन मैनालीले झट्ट निखिललाई भने ‘तिमी त खतरा मार्सल आर्ट गर्दो रहेछौ । यही चिज फिल्ममा गर्यो भने त गज्जब हुन्छ । मैले फिल्म बनाएँ भने त तिमीलाई लिन्छु ।’ निखिलले पनि सकारात्मक हुँदै भनिदिए ‘हुन्छ नि, मिल्यो भने फोन गर्नु न । म त मुम्बईतिर हुन्छु ।’ नम्बर साटासाट भयो ।
सन् १९९३ मा उनी फिल्म पढ्न मुम्बई पुगेका थिए । रानी मुखर्जी, रोहित सेट्टीसँग एउटै कक्षामा निर्देशन पढ्थे । डेढ वर्षे निर्देशन कोर्ष सकाएर बलिउडमा काम थाले । निर्देशन पढ्दै गर्दा पनि कति द्वन्द्व निर्देशकले उनलाई सहायक कामका लागि अफर गर्थे । उसु र तेक्वान्डोमा ब्ल्याक बेल्ट, त्यहीमाथि ज्याकीको मार्सल आर्ट ।
बलिउडमा मात्र होइन, दक्षिण भारतीय फिल्ममा पनि साहयक भएर काम गर्ने अवसर पाए । ‘यदि मेरैबारे मैले भन्नु पर्यो भने म मिहेनती मान्छे हुँ । भनौं न एउटा गधा, गोरु र ममा धेरै समानता छ । निरन्तर मिहेनत गरिरहन्थें, नतिजा जस्तोसुके आओस् । मिहेनती छ, काम गर्छ, भनेर एक्सन डिरेक्टरहरुले मलाई बोलाउँथे,’ उनले भने ।




















