गोरखा समाचारदाता
काठमाण्डौ – महानगरीय प्रहरी परिसर काठमाण्डौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ ।
नवगठित जनता समाजवादी पार्टीले तत्कालीन समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरणमा संग्लनलाई कार्वाहीको माग गर्दै उजुरी दिन गएका थिए।
डा.बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरुले महानगरीय प्रहरी परिसर टेकु गएर उजुरी दर्ता गर्न गएका हुन । तर, प्रहरीले भने उजुरी लिन आनाकानी गरेको छ ।
डीएसपी कृष्ण चन्दले मुद्दा दर्ता गर्न आनाकानी गरेको र यहाँ मिल्दैन, महोत्तरी जानोस् भनेर जवाफ दिएको बताइएको छ ।
यादवलाई सत्तारुढ दल नेकपाका सांसदहरु महेस बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरीप्रमुख सर्वेन्द्र खनालले घरबाटै अपहरण गरी काठमाडौँ ल्याएको भन्दै उनीहरुविरुद्ध पार्टीले उजुरी दर्ता गर्न लागेको हो । नेकपाका सांसद र पूर्व प्रहरी प्रमुखले गत बुधबार सांसद यादवलाई महोत्तरीबाट काठमाडौँ ल्याएका थिए ।
जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएर निस्केका थिए । समाजवादी पार्टीले उनको अपहरण भएको बताउँदै आएको छ । आरोपित नेताहरुले भने सहमति मै काठमाडौं ल्याइएको दावी गर्दै आएका छन ।।


