वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षिया युवतीको आइतबार बिहान मृत्यु भएको हो । ब्लड क्यान्सरले ग्रसीत ती युवतीको चितवन भरतपुरस्थित ‘क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।
एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले शुरुमा नेशनल मेडिकल कलेजमा लगेका थिए । तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो ।
एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आयो ।
तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
युवतीको शव अहिले नारायणी अस्पतालमै छ। उनको मत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको उपाध्यायल बताए ।


