सन्धिखर्क : गाउँको भीरालो जग्गा, पाखो बारी बाटोघाटो पनि उस्तै त्यही भिरालो जग्गामा सानो घर। दुई बैसाखी टेकेर त्यही सानो घरको भित्र र बाहिर गरिरहन्छन् ऋषि खनाल। २०७२ वैशाख १२ गतेसम्म ठमठमी हिँड्ने ऋषिको त्यसपछिको सहारा बैसाखी बनेको छ । ८२ घण्टापछि जीवितै भेटिएका ऋषि भूकम्प शब्द सुन्दा पनि आज डर लाग्ने बताउँछन् । भूकम्प भन्ने बित्तिकै उनी च्यापिएका र ढलिरहेका र ज्यान गुमाएका मानिस मात्र सम्झिन्छन्।
काठमाडौं गंगबुको सात तले गेष्ट हाउसको पहिलो र दोस्रो तला भत्किएका थियो । तर, माथिल्लो चार तला कायमै थियो । त्यही भत्किएको तलामा झण्डै ८२ घन्टासम्म रहेका ऋषीको उद्धार भएको थियो । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्दार टोलीको १० घन्टा लामो प्रयासपछि उनको उद्धार भएको थियो। छोपिएको ठाउँबाट खनालले सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए।
विदेश गएर पैसा कमाउने र परिवारलाई खुसी बनाउने सपना बोकेर साविक ढाकाबांग गाविस ६ (भूमिकास्थान गगरपालिका-१) साम्नेगाउँका ३१ वर्षीय ऋषि काठमाडौंमा फसेका थिए । अर्घाखाँची काठमाडौं गएका ऋषिले वैशाख १४ गतेका लागि यूएईको टिकट लिएका थिए तर उनी १२ गते नै भू’कम्पमा फसे उनको देब्रे खुट्टा का’टिएको छ । ऋषिको घरमा बुबा आमा, श्रीमती र एक छोरा छन्। भूकम्पमा परेर बाँचेको भन्दा पनि आफ्नो परिवारलाई कसरी पाल्ने र ६ बर्षको छोरा कसरी पढाउने भन्ने चिन्ता उनलाई छ ।
‘छोरो कसरी पढाउने भन्ने चिन्ता छ’, उनी भन्छन्, ‘गाउँकै बोर्डिङ स्कुलमा भर्ना गरेको थिएँ । फि तिर्न नसकेपछि सामुदायिक विद्यालयमा भर्ना गरेको छु ।’ ‘त्यो समयमा बाच्नु ठूलो कुरा भयो’, ऋषि भन्छन्, ‘खुट्टा का’टिएको छ, हेर्नुहोस. श्रीमती र छोरालाई कसरी पाल्न सक्छु ?’ उनीसँग थप उपचार गर्ने पैसा छैन। ‘उपचार खर्च सरकारले गर्छ तर काठमाडौं जाँदा आउँदाको खर्च पनि मसँग छैन’, उनी भन्छन् ।
उनले आफूले केही सीप सिकेर जीवीकोपार्जन गर्न चाहेको भए पनि त्यो गाउँमा सम्भव नभएको गुनासो गरे। ‘यत्तिबेला श्रीमती र छोराको भविष्य सोचेर चिन्तित छु’, उनी भन्छन्, ‘मेरो जिन्दगी त गयो छोराको भविष्य कसरी निर्माण गर्न सक्छु।’ आफ्नै बारेमा धेरैले चलचित्र, डकुमेन्ट्री र वृत्तचित्र बनाएर पैसा कमाएको तर आफूले केही नपाएको गुनासो उनको छ । प्रेमनारायण आचार्य




















