गोरखा समाचारदाता
गोरखा – गोरखा नामजुङका युवाहरुले लकडाउनको सदुपयोग गाउँमा बिकासको काम गरेर बिताउदै छन् ।
शहिद लखन गाउँपालिका पर्ने नामजुङका खड्का गाउँबासीहरुले लकडाउनको मौकामा गाउँमा विकासको कामको सुरुवात गरेका हुन् ।
शहिद लखन गाउँपालिका ९ नम्बर वडामा पर्ने कट्टेलडाडाँ भन्ने स्थानमा अहिले युवाहरुले गोल घर बनाउदै छन् । ‘फुर्सदमा युवाहरु त्यसै बरालिएर तास खेल्ने र रक्सी खाने तथा गाउँ गाउँ चाहर्ने गर्दथे । तर यस पटक भने संक्रमण फैलन सक्ने भन्दै युवाहरु गाउँमा नै भएकोले विकासको काममा जटेको’ जनशक्ति माविका शिक्षक एवं स्थानिय उद्वव श्रेष्ठले बताए ।
दर्जन भन्दा बढी युवाहरुले अहिले दैनिकरुपमा स्वतस्फुर्त रुपमा जम्मा भएर डाडाँमा निर्माण भई रहेको गोल घरमा श्रमदान गरिरहेका छन् । उनीहरु बिहान खाना खाएर जम्मा हुने र दिउसो खाजा खाने बेला काम छाडेर घर जाने गर्दछन् ।
खड्का गाउँका युवाहरुले गरेको यो नमुना कामले गाउँका बृद्व बृद्वाहरु पनि खुशी भएका छन् । ‘अरु बेला बरालिएर हिड्ने गरेको भएता पनि यो बन्दाबन्दीमा ठिटाहरुले काम गरेको देख्दा खुशी लागेको’ बताउछन् स्थानिय बिण्णु श्रेष्ठ ।
गोलघर निर्माण संगै युवाहरुले त्यहाँ फुलबारी र छेकबार समेत तयार गर्ने योजना समेत गरिसकेका छन् । त्यस पछि पनि गाउँमा आवश्यताको आधारमा बन्दाबन्दी भरी काम गर्ने एक युवाले बताए ।
बन्दाबन्दीका बेला अन्य गाउँका युवायुवतीहरुले यस्तै कामको सुरुवात गरे गाउँले नयाँ मुहार फेर्ने कुरामा दुई मत हुने छैन ।


