गोरखा समाचारदाता
काठमाण्डौं –राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको २ अध्यादेश खारेज गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।
संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् ।
तर चौतर्फी विरोधपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो । मुलुक कोरोना संक्रमणसँग जुधिरहेको समयमा विवादास्पद विधेयक ल्याएको भन्दै पार्टीभित्रैवाट आलोचना भएपछि प्रधानमन्त्री ओली विधेयक फिर्ता लिन तयार भएका हुन ।
विपक्षी दल र सत्तारुढ नेकपाकै ६ जना सचिवालय सदस्यले समेत अध्यादेश फिर्ता लिन माग गरेका थिए ।
वैशाख ८ गते सरकारले राजनीतिक दल विभाजन गर्न खुकुलो प्रावधान लिने र संवैधानिक परिषदको बैठकले विपक्षी दलको नेता नभए पनि निर्णय लिन सक्ने अध्यादेश ल्याएको थियो ।


