अभिनेत्री वर्षा शिवाकोटीलाई परिचयको आवश्यकता पर्दैन । सामाजिक सञ्जालमा आफूलाई सक्रिय राखिरहनु हुने यी सुन्दर अभिनेत्रीले अभिनय यात्राको क्रममा केही राम्रा चलचित्रहरु पनि दिनु भएको छ । एकसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएकी यी अभिनेत्रीले चलचित्र ‘नाई नभन्नु ल २’ बाट अभिनय यात्रा प्रारम्भ गर्नु भएको हो । लप्पन छप्पन, भैरे, पशुपति प्रसाद, कारखाना, वीर विक्रम-२ आदि उहाँका प्रदर्शन भैसकेका चलचित्रहरु हुन् । उहाँको पछिल्लो चलचित्र ‘लक्का जवान’ गत चैत् २१ गतेदेखि प्रदर्शन हुने तय थियो, तर लकडाउनका कारण त्यसको प्रदर्शन मिति अनिश्चित बनेको छ । उहाँले लकडाउनअघि नै चलचित्र ‘चालबाज’ को छायांकन सम्पन्न गरिसक्नु भएको छ, यद्यपि दुई गीतको छायांकन बाँकी नै छ । लकडाउन लगत्तै ती गीतको छायांकन हुनेछ । यसबाहेक उहाँ दुई नयाँ नेपाली चलचित्रहरु ‘सुदूर’ तथा ‘गोर्खा वारियर’ को छायांकनमा पनि सक्रिय हुनु हुनेछ ।
अहिलेको समय कसरी बिताइरहनु भएको छ ?
समय निकै छ । त्यही भएर आफूलाई सेल्फ हेल्प हुने कामहरु मा बानि बसाइरहेकी छु । जस्तै पुस्तकहरु पढ्ने, योगा र वर्कआउट बिहान सकेसम्म चाँडै उठेर गर्ने, खाने कुरा र डाइटमा एकदम ख्याल गर्ने र अस्वस्थ खाने कुरा पूर्ण रुपले निषेध गर्ने, भान्सामा अलि बढि सक्रिय हुने…यस्तै यस्तै…गरेर बिताइरहेकी छु ।
यो समयमा कुन कुरा धेरै मिस गर्नु भएको छ ?
मैले सबैभन्दा बढि सूटिङ नै मिस गरिरहेकी छु ।
यो समयमा सिर्जनात्मक कुराहरु पनि केहि गर्नु भयो कि ?
मैले केही लेखन कार्य गरें । फ्ल्यूएन्ट इङ्लिस स्पिकिङ प्राक्टिस गरिरहेकी छु ।
यो समयमा के नया कुरा गर्न सिक्नु भयो ?
नयाँ कुराभन्दा पनि मैले सद्गुरुको प्राय: सबै भनाईहरु हेरेर भ्याएँ । आफूमा धेरै सकारात्मकतालाई भण्डारण गर्ने कार्य गरिरहेकी छु ।
लकडाउनको सकारात्मक पक्ष पनि केहि पाउनु भयो कि ?
आफ्नो लागि समय एकदमै पाएकी छु । ज्ञान–ज्ञुनका कुराहरु धेरै बटुल्ने मौका पाएकी छु । परिवारसंग सामिप्यता अझै बढेको छ । वातावरण प्रदुषण कम भएको छ । सडक दुर्घटनाहरु घटेका छन् । जनावरहरु स्वतन्त्र भएर हिंड्न पाएका छन् ।
लकडाउन खुल्नासाथ पहिला के गर्नु हुन्छ अथवा कसलाई भेट्नु हुन्छ ?
लकडाउन अगाडि रोकिएका केही शूटिङहरु छन् । शायद तिनै हुन्छन् होला । साथीहरुसंग पनि भेटघाट गरिन्छ ।
लकडाउनको समयमा आफुलाई कुनै कुरामा परिर्वतन भएको पाउनु भयो कि ?
हजुर, म एकदम जीवनप्रति सकारात्मक भएको अनुभव गरिरहेकी छु । मानसिक तनावबाट मुक्त भएकी छु र आत्मविश्वास अझ बढेको छ ।
कोरोना संक्रमणबाट बच्नका लागि के के गरिराख्नु भएको छ ?
अहिलेलाई सबैभन्दा बढी उचित कार्य भनेकै सामाजिक दूरी कम गर्नु नै हो । त्यसैलाई नै अपनाइरहेकी छु ।
लकडाउन लम्बिरहेको छ, के भन्न चाहनु हुन्छ ?
जबसम्म यो भाइरस नियन्त्रणमा आउ“दैन, लकडाउन जरुरी देखिन्छ । सरकारे निर्णलाई पक्कै पनि स्विकार गर्नु पर्छ, किनकि यो सबै हाम्रै सुरक्षाको लागि हो ।
अन्त्यमा ,कलाकारहरुमा तपाईंले सबैभन्दा पहिला राहत प्रदान गर्नु भयो, यसबारेमा के भन्न चाहनु हुन्छ ?
खुशी लाग्यो । मेरो पहलपछि धेरै जना अगाडि आउनु भयो सहयोगका लागि । एक न एक जनाबाट त प्रारम्भ हुनै पर्दथ्यो, त्यसैले मैले त्यही सोचेर गरेको हो ।




