एभिन्युज – अहिले नेपालसहित विश्वका २ सयभन्दा बढी मुलुकमा कोरोना भाइरस 9कोभिड-१९) को संक्रमण फैलिएको छ । चीनबाट सुरु भएको यो महामारीको केन्द्र पछिल्लो समय युरोप र अमेरिका बनेका छन् । नेपालमा पनि स्थानीय स्तरमा एक महिला संक्रमित भएसँगै यो महामारी दोस्रो चरणमा प्रवेश गरेको छ ।
केही दिनयता निरन्तर संक्रमित भेटिन थालेका छन् । यसर्थ कोरोनाविरुद्ध थप सतर्कता अपनाउन र परीक्षण तीव्र पार्न आवश्यक छ । नेपाल सरकारले कोभिड-१९ को संक्रमण पत्ता लगाउन र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुवै विधि अपनाएको छ ।
वैज्ञानिक नाम सार्स-कोभ-२ भाइरसको संक्रमण जाँच्ने दुई तरिका छन्स् र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) टेस्ट। आरडीटी-व्यक्ति वा समुदायमा भाइरस संक्रमण छ कि छैन भनेर गरिने परीक्षण हो । कसैमा भाइरस संक्रमण भएमा उसको शरीरभित्र भाइरससँग लड्न रोग-प्रतिरोधात्मक एन्टिबडी प्रोटिन (आईजीएम र आईजीजी) उत्पादन हुन्छन् । यही एन्टिबडी प्रोटिनको मद्दतले ऊ आफैँ ठीक पनि हुन सक्छ । भविष्यमा पनि यही एन्टिबडी प्रोटिनले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्छ।
तर आरडीटी परीक्षणले आजका दिनमा भाइरस संक्रमण छ वा छैन भन्ने सूचना दिन सक्दैन । पीसीआर विधिले भने कोरोना भाइरस छ वा छैन भन्ने जानकारी दिन सक्छ । नयाँ संक्रमण पहिचान गर्न सक्छ। यसका लागि मानिसको नाक वा घाँटी भित्रबाट नमुना (तरल पदार्थ) लिइन्छ ।
नेपालमा प्रयोग भइरहेको आरडीटी विधिले मानिसको रगतमा एन्टिबडी प्रोटिन छ वा छैन भनी परीक्षण गर्छ । कसैमा भाइरस संक्रमण भएमा यो एन्डिबडी प्रोटिन बन्न केही दिन लाग्छ । भाइरस संक्रमण भएको ७ दिनदेखि ६ महिनासम्म (वा योभन्दा पनि बढी) यो एन्डिबडी प्रोटिन मानिसको रगतमा रहिरन्छ । रगतमा यो एन्डिबडी प्रोटिन देखिए, आरडीटी परीक्षणको नतिजा पोजिटिभ आउँछ ।
तर भाइरस संक्रमण भएको १ देखि ७ दिनसम्म आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आउँछ । किनभने यो भाइरस संक्रमणको प्रारम्भिक चरणमा शरीरभित्र भाइरस भए पनि रगतमा एन्डिबडी प्रोटिन बनिसकेको हुँदैन । त्यसैले आरडीटीमा नेगेटिभ देखिएका हरेक मानिसमा पीसीआर परीक्षण गर्न जरुरी हुन्छ। तर नेपालमा आरडीटीमा नेगेटिभ देखिएका मानिसमा कोभिड-१९ का लक्षण देखिए मात्र फेरि पीसीआर परीक्षण गर्ने गरिएको छ। यसले गर्दा धेरै जना संक्रमित पहिचान गर्नबाट छुटेका हुन सक्छन् ।
हालै वीरगन्जको क्वारेन्टिनमा रहेकी एक महिलालाई आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि आफ्नो घर कैलाली पठाइयो, तर फेरि पीसीआर परीक्षण गर्दा नतिजा पोजिटिभ आयो । यसको मतलब ती महिलामा भाइरस संक्रमणको प्रारम्भिक चरणमा थियो, जुन आरडीटीले पहिचान गर्न सकेन । पीसीआरले गर्यो ।
भाइरस संक्रमण भएको ७–२१ दिनभित्र आरडीटी परीक्षण गरियो भने नतिजा पोजिटिभ आउँछ । पीसीआर परीक्षण गर्दा पनि पोजिटिभै आउँछ । यसको अर्थ उसमा भाइरस भएको, संक्रमण मध्यम चरणमा रहेको र एन्डिबडी प्रोटिन पनि बनेको प्रमाणित हुन्छ । भाइरस संक्रमण भएको १४–२१ दिन बितिसकेको अवस्थामा आरडीटी परीक्षण गर्दा नतिजा पोजिटिभ आउँछ । तर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउन सक्छ ।
यसको अर्थ उसमा हाल संक्रमण नरहेको वा निको हुने चरणमा रहेको भनी बुझ्न सकिन्छ । अहिले नेपालमा कतिपय स्थानमा भइरहेको पनि यही हो । आरडीटी गर्दा पोजिटिभ देखिन्छ भने पीसीआर गर्दा नेगेटिभ ।
हालै काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन जना (आमा, छोरा र बुहारी) बेलायतबाट कतार हुँदै काठमाडौं आएको करिब तीन साता बितिसकेको थियो । तीनै जनाको पहिले आरडीटीबाट परीक्षण गर्दा नतिजा पोजिटिभ देखियो, तर पुनः पीसीआर परीक्षण गर्दा आमा र छोरामा कोरोना देखियो भने बुहारीमा देखिएन । यसमा कुनै शंका नरहोस्, तीनै जना संक्रमित हुन् ।
आमा र छोराको शरीरभित्र अहिलेसम्म भाइरस छ, तर बुहारीको शरीरबाट हटिसकेको छ । बुहारीलाई विदेशमै भाइरस संक्रमण भएको र पछि उनीबाट आमा र छोरालाई सरेको (स्थानीय संक्रमण) हुन सक्छ । संक्रमित परिवारका सम्पर्कमा आएका मानिसको आरडीटीबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आए पनि पुनः पीसीआर परीक्षण गर्न जरुरी छ ।
आरडीटी र पीसीआर दुवै परीक्षणमा नतिजा नेगेटिभ आए मात्र भाइरस संक्रमण नभएको पुष्टि हुन्छ ।
आरडीटी पीसीआर नतिजाको अर्थ
| आरडीटी | पीसीआर | नतिजाको अर्थ |
| नेगेटिभ | पोजेटिभ | भाइरस संक्रमण भएको १-७ दिन भित्र (प्रारम्भिक चरण) अवस्था, शरिरभित्र आजको दिनमा भाइरस रहेको अवस्था |
| पोजेटिभ | पोजेटिभ | भाइरस संक्रमण भएको ७-२१ दिन (मध्यम चरण) अवस्था, शरिरभित्र आजको दिनमा भाइरस रहेको अवस्था |
| पोजेटिभ | नेगेटिभ | भाइरस संक्रमण भएको १४-२१ दिन बितिसकिको अवस्था, शरिरबाट भाइरस हतिसकेको वा बिरामी निको हुने चरणमा रहेको अवस्था |
| नेगेटिभ | नेगेटिभ | भाइरस संक्रमण नभएको अवस्था |
पीसीआरभन्दा आरडीटी परीक्षणको मूल्य धेरै सस्तो पर्छ । आरडीटी परीक्षणको नतिजा २०–२५ मिनेटभित्र निकाल्न सकिन्छ भने पीसीआर परीक्षणको नतिजा १–४ घण्टा लाग्छ । आरडीटी परीक्षण गर्न कुनै बिजुली वा महँगो उपकरण चाहिँदैन र साधारण तालिमप्राप्त ल्याब असिस्टेन्टले यो टेस्ट गर्न सक्छन् । त्यसैले आरडीटी परीक्षण गाउँगाउँमा ठूलो समुदायमा गर्न सकिन्छ । पीसीआर एउटा जटिल प्रविधि हो र यसका लागि सुविधाजनक प्रयोगशाला र विशिष्ट तालिमप्राप्त प्राविधिकको आवश्यकता पर्छ । त्यसैले पीसीआर परीक्षण सुगम क्षेत्रमा मात्र सम्भव छ ।
विज्ञान-प्रविधिमा लगानी गर्ने अवसर
नेपाल कोरोना भाइरस महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ । यतिबेला नेपाल सरकारको पहिलो प्राथमिकता कोरोना भाइरस परीक्षण गरी संक्रमित पहिचान गर्नु हो । प्रारम्भिक दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा मात्र पीसीआर परीक्षण हुन्थ्यो भने अहिले यो सेवा नेपालका ११ स्थानमा विस्तार भइसकेको छ । यो धेरै सकारात्मक कुरो हो । तर कोरोना भाइरस पहिचानका लागि नेपालमा नमुना संकलनको क्रम बढाउँदै लगिए पनि त्यस अनुपातमा परीक्षण बढाउन सकिएको छैन । यसको मुख्य कारण हो-नेपालमै भएका प्रयोगशाला, उपकरण र दक्ष प्राविधिज्ञको पूर्ण सदुपयोग गर्न नसक्नु ।
नेपाल सरकारले हालै खरिद गरेको पीसीआर मेसिन प्रयोग गर्नुभन्दा धेरै अगाडिदेखि नेपालका विभिन्न अस्पताल, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी र निजी अनुसन्धान केन्द्र गरी करिब २५ स्वास्थ्य संस्थामा अब्बल दर्जाका पीसीआर उपकरण थिए । यीमध्ये केही टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हाल रहेका पीसीआर मेसिनजत्तिकै क्षमताका छन् । यी पीसीआर उपकरण नेपाल सरकारले खरिद गरेको भन्दा धेरै सस्ता पनि छन् । जुन पीसीआर उपकरण सरकारले तुरुन्तै प्रयोग गर्न पनि सक्छ ।
त्यसमाथि नेपालकै विभिन्न विश्वविद्यालयबाट बायोटेक्नोलोजी र मिक्रोबायोलोजीमा दिक्षित, पीसीआर प्रविधिमा तालिमप्राप्त सयौं अनुसन्धानकर्मी तथा प्राविधिज्ञलाई कोरोना भाइरसको परीक्षणमा सघाउन र यसको अध्ययनरअनुसन्धानमा लाग्न सरकारले आह्वान गर्न सक्छ । अमेरिका, बेलायत, जर्मनीजस्ता देशमा कोरोना भाइरसको परीक्षण त्यहाँको सरकारी प्रयोगशालाले मात्र धान्न नसकेर विभिन्न विश्वविद्यालय र निजी कम्पनीको प्रयोगशाला, उपकरण र प्राविधिज्ञलाई उपयोग गरिरहेका छन् ।
नेपाल सरकारले हालै खरिद गरेको पीसीआर उपकरण निकै कम क्षमताको भएको पाइएको छ । यो मेसिनले एकपटकमा एक बिरामीको मात्र नमुना परीक्षण गर्न मिल्छ । चौबीसै घण्टा निरन्तर काम गर्दा एक दिनमा जम्मा २४ बिरामीको मात्र नमुना परीक्षण गर्न मिल्ने देखिन्छ । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालका विभिन्न अनुसन्धान संस्थामा पहिलेदेखि रहेका पीसीआर उपकरणबाट एकैपटकमा ८०-९० बिरामीका नमुना परीक्षण गर्न सकिन्छ र सम्पूर्ण प्रक्रिया ३-४ घण्टामै सकिन्छ। चौबीसै घण्टा निरन्तर काम गरियो भने एक दिनमा ४-५ सय बिरामीको नमुना परीक्षण गर्न मिल्छ । सरकारले देखाएको अदूरदर्शिताले कोरोना भाइरसको परीक्षणमा चाहिने सामग्री खरिद प्रक्रियामा नेपाली प्राज्ञिक तथा वैज्ञानिकसँग परामर्शै नगरेको स्पष्ट हुन्छ ।
पीसीआर एउटा महँगो प्रविधि र यसलाई सुविधाजनक प्रयोगशाला चाहिने हुन्छ । पीसीआर प्रविधि कोभिड-१९ बाहेक क्षयरोग, हैजा, मलेरिया, कालाजार, क्यान्सरजस्ता मानिसका रोग तथा पशुपक्षी र गहुँबालीमा लाग्ने रोग पहिचान गर्न पनि प्रयोग गरिन्छ ।
नेपाल सरकारले यसलाई खर्चभन्दा पनि विज्ञान-प्रविधिमा गरिने लगानीका रूपमा लिनुपर्छ । अहिल्यै पर्याप्त लगानी नगरे महामारीको अर्को चरणमा थेग्नै नसक्ने मूल्य चुकाउनुपर्छ । नेपाल विज्ञान(प्रविधिमा विश्व समुदायभन्दा धेरै पछि छ । तसर्थ यो महामारीलाई हामी विज्ञान-प्रविधिमा अधिकतम लगानी गर्ने अवसरका रूपमा सदुपयोग गर्ने कि ?
(डा.श्रेष्ठ अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्निया, सानफ्रानसिस्कोमा रिसर्च स्कलरका रूपमा क्यान्सर अनुसन्धानमा संलग्न छन् । साथै बायोटेक्नोलोजी सोसाईटी अफ नेपाल (बिएसएन) सँग पनि आबद्ध छन्।)




















