गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको कालीमाटी तरकारी तथा फलफूल बजार आज (बिहीबार)देखि बन्द भएको छ ।
काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो ।
बजारमा तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै हुनेछ ।
महानगरपालिकाले लकडाउन अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी तरकारी तथा फलफुल समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।
साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।
काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गरिएको महानगरपालिकाले जनाएको छ ।
कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको व्यवस्था मिलाइएको छ ।


