गोरखा समाचारदाता
काठमाण्डौं – आजवाट सुदुरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा कोराना भाईरसको रयापिड टेस्ट सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयवाट गएको टोलीले दुबै जिल्लामा रहेका क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको नमूना संकलन थालेको हो ।
पहिलो चरणमा कैलालीमा गोदावरी नगरपालिकामा रहेको तेघरी ब्यारेकको क्वारेन्टाईनमा राखिएका २१ जनाको नमूना संकलन गरिएको छ । संकलन गरिएको नमूना सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
टोलीले भारतबाट आएका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा कोरोनाको संक्रमण भए–नभएको पत्ता लगाउन रयालको नमूना संकलन गरेको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा रयापिड टेष्ट गर्ने सरकारको योजना छ ।
छुट्टाछुट्टै रुपमा दुई जिल्लामा खटिएको टोलीले दुईटै जिल्लामा सय/सय जनाको नमूना संकलन गर्नेछ । संकलीत नमूना काठमाडौँ पठाएर पिसिआर मेसिन रयापिड डाइग्नोष्टिक टेस्ट किटबाट परिक्षण गरिनेछ ।
दुवै जिल्लाको नतिजा एकै आएमा उक्त किटको विश्वसनीयता पुष्टि हुने अपेक्षा गरिएको छ । गत शनिवार सरकारले दुबै जिल्लामा रयापिड डायग्नोस्टिक टेष्ट गर्ने र पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो ।
दुई जिल्लामा गरेर चार जनामा कोरोना संक्रमण देखिएको छ । तीन जना विदेशवाट आएका ब्यक्ति हुन भने एकजनालाई परिवारका सदस्यवाट कोरोना सरेको हो ।
सङ्क्रमण देखिएपछि सरकारले कैलाली र कञ्चनपुरलाई लक्षित गरी करिब तीन सय द्रुत परीक्षण कीटसहित चारजना प्रावधिक खटाएको छ ।


