काठमाडौं– ‘पिरिम नलाउने…’ गीतका कारण सांगीतिक क्षेत्रमा स्थापित भएका गायक हुन् आशिष सचिन । गायिका मेलिना राईले त हरेक प्रकारका गीतमार्फत दर्शक तथा स्रोताको मन जित्दै आइ नै रहेकी छिन् । पिरिम नलाउने गीतमा यीनै दुई गायक–गायिकाको स्वरले सजिएको छ । यदि सरकारले लकडाउन घोषणा नगरेको हुन्थ्यो भने आज चैत २५ गते मंगलबार आशिष सचिन तथा मेलिना राईको नयाँ यूगल गीत ‘गलबन्दि पछ्यौरी…’ को म्युजिक भिडियो यूट्यूबमार्फत सार्वजनिक हुने थियो ।
यद्यपि, दुई साता अघिदेखि लागेको लकडाउनले उक्त गीतको म्युजिक भिडियो आज सार्वजनिक आज हुन सकेन । पिरिम नलाउने तथा गलबन्दि पछ्यौरी गीतका भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । यसैबीच मंंगलबार बिहान गायक आशिष सचिन तथा गायिका मेलिना राईले फेसबुकमा एउटा स्टाटस लेख्दै उक्त गीतका बारेमा केही जानकारी दिएका छन् ।
उनीहरुले लेखेको स्टाटस जस्ताको तस्ते :
‘यहाँहरुको माया र प्रेमकै कारण हाम्रो पिरिम नलाउने, एक कान दुई कान मैदान जस्ता गीतहरु सफल भएका हुन् । हाम्रो आगामी आउने गीत गलबन्दी पछ्यौरी आज चैत २५ गते हाम्रो दर्शक तथा स्रोताहरुलाई नयाँ वर्ष २०७७ को उपहार स्वरुप रिलिज गर्न हाम्रो टिमले समय मिलाएका थियौं । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगको कारण विकसित असामान्य परिस्थितिले गर्दा सो गीत (म्युजिक भिडियो) हाललाई रिलिज नगरेर पछि अनुकुल समयमा, हामी सबैको दिनचर्या पहिले जस्तै सामान्य अवस्थामा फर्केपश्चात खुशीको माहोलमा रिलिज गर्ने व्यहोरा यहाँहरु सबैमा अवगत गराउन चाहन्छु त्यस्तै, देशमा सङ्क्रमितको सङ्ख्या बढेसङ्गै यो लकडाउनको अवधि समेत अझै थपिंदै गएको छ र स्वास्थ्यको हिसाबले यो लकडाउन लम्बिनु राम्रो कुरा हो ।
तर उच्चवर्ग र मध्यम वर्गलाई अझै केहि दिन लकडाउनले ले फरक नपर्ला तर आजको आजै ज्याला मजदुरी गरेर जीविका चलाउने निम्न वर्गलाई यसले अत्यन्त गाह्रो परेको अवस्था छ । उहाँहरुको परिस्थितिलाई ध्यानमा राखी हामी जसजसले सक्छौ, हाम्रो सहयोगी हातहरु अघि बढोस् र नेपाल सरकारसंग पनि बिनम्र अनुरोध गर्दछु कि निम्नवर्गको सहि पहिचान गरी राज्य बाट पूर्ण रुपमा राहत र सहयोग होस् । अन्त्यमा, पुन म हात जोडेर विनम्र अनुरोध गर्दछु ,कृपया घरबाट बाहिर न निक्लिदिनुहोस, अहिलेको यो महामारी रोगसंग जुध्न र बच्न यो नै ठूलो उपाय हो र यो योगदान आफ्नो लागि मात्र नभइ हाम्रो आफ्नो पुरा परिवार, हाम्रो समाज ,हाम्रो देश कै लागि हो ।


