गाेरखा । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।
जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा साधरणतया बादल तथा बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भागको केही स्थानमा र पहाडी भागको केही स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भागको थोरै स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आजै राति देशको हिमाली भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागको केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
देशको तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।


