गाेरखा । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋृण लगानी गर्ने भएको छ ।
लगानीका लागी बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आयाेजनाकाे कूल लागत ९६ करोड ३८ लाख ३० हजार मघ्य ७० प्रतिशत ऋृण रावाबैङ्कले गर्न लागेकाे कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।
सम्झाैता अनुसार बैङ्कले ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ भने बाँकी २८ करोड ९१ लख ५० हजार कम्पनीले लगानी गर्ने छ ।
१८ महिनामा भित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकाे कम्पनीले वार्षिक २७ दशमलव ३७९ गिगावट आवर विद्युत् उत्पादन हुने अनुमान गरीएकाे छ ।
आयाेजनाबाट वर्षायाममा १८ दशमलव ६२१ गिगावट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच गत असार २१ गते विद्युत् खरिदबिक्री सम्झौता भइसकेकाे छ । आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सवस्टेसनमा जोडिने छ ।
ऋृण लगानी सम्झौता पश्चात कम्पनीका अध्यक्ष न्यौपानेले नेपालको विकासका लागि जलविद्युत् क्षेत्रमा लगानी बढाएर लैजानुपर्ने आवश्यकता बोध गरी आयोजना निर्माण गर्न लागिएको बताए । जलविद्युत् क्षेत्रमा अनुभव हासिल गरिसकेको सो समूहले ४ दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
यसैवर्ष थप २२ मेगावाट क्षमताको जल्दीगाढ जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले लक्ष्य राखेकाे छ ।


