गोरखा । गोरखाको आरुघाट बजारमा ब्यवसाय गर्दै आएका बिण्णु श्रेष्ठको आज बिहानैदेखी खोजी सुरु गरीएको छ । श्रेष्ठ हिजो मंगलबार साँझपख स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हालफाले पछी बेपत्ता भएका थिए ।
आरुघाट गाउँपालिका आरुपोखरीका श्रेष्ठले आरुघाट बजार क्षेत्रमा समोसा पसल सञ्चालन गर्दै आएका थिए । उनै श्रेष्ठ मंगलबार दिउसो ४ः५० बजे स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हामफालेर बेपत्ता भएको भएको जिल्ला प्रहरी गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
बेपत्ता पुरुषको आज बुधबार बिहानदेखी नेपाल प्रहरी, शसस्त्र प्रहरी, उनका आफन्त र गाउँलेहरु भएर किनार आसपास खोजी सुरु गरीएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक नविन गिरीले बताए ।
उनका अनुसार नदी तटीय क्षेत्रको बेनीघाटसम्म पनि खोजीकालागी प्रहरी परिचालन गरीएको छ । त्यस बाहेक पनि धादिङ प्रहरी संग समन्वय गरेर राराङ गाउँपालिका क्षेत्रमा पनि बिहानैदेखी खोजी सुरु गरीएको प्रनि गिरीले बताए ।
स्थानियले दिएको जानकारी अनुसार उनी केही सयमदेखी मानसिक रुपमा विछिप्त अवस्थाबाट गुज्रीरहेका थिए ।


