गोरखा । गोरखा प्रहरीले सदरमुकाम नजिकैको जंगलबाट अबैध काठ र २ जनालाई नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका–८ को थाकलडाँडा स्थित सामुदायिक बनबाट गोरखा प्रहरीले १२ गोलीयाँ काठ सहित ट्याक्टर, त्यसका चालक र काठ लाने ब्यत्तीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उक्त सामुदायिक बन भित्र अवैध सल्लोको काठ फाँडानी भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठ, काठ लान प्रयोग गरीएको ट्याक्टर, त्यसको चालक र काठ लाने ब्यत्तीलाई नियन्त्रणमा लिएको हो ।
सूचना अधिकारी शर्माले दिएको जानकारी अनुसार ग. १ त ४५४४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ । प्रहरीले ट्याक्टर चालक गोरखा नगरपालिका–९ बस्ने बर्ष २० को सुजन सिर्मल र काठ लाने ब्यत्ती गोरखा नगरपालिका–८ का बर्ष ६१ को सुकमान सार्कीलाई पक्राउ गरेको छ ।
मंगलबार दिउसो १ बजे नियन्त्रणमा लिएको ट्याक्टर, काठ र पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागी प्रहरीले डिभिजन बन कार्यालय गोरखालाई बुझाएको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।
यता डिभिजन बन कार्यालय गोरखाका डिभिजन बन कार्यालयका कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यका अनुसार बरामद भएको १२ थान गोलियाँ मध्ये ११ थान सल्लो भएको र १ थान बकाइनो भएको पुष्टी गरे ।
उनका अनुसार प्रहरीले हिजै न्यायिक जाँचकालागी कार्यालयमा बुझाएका दुवै जनालाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी दिए ।




















