गोरखा । गोरखाका पालुङटारमा ‘तेस्रो लिगलिग पालुङटार महोत्सव–२०८१’ हुने भएको छ । महोत्सव यही माघ २४ गतेदेखी फागुन ४ गतेसम्म सञ्चालनमा आउने आयोजकले जनाएको छ ।
लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजना तथा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश पोखरा र गोरखाको सह–आयोजना हुन लागेको हो ।
आज पालुङटारमा पत्रकार सम्मेलन गर्दै ‘तेस्रो लिगलिग पालुङटार महोत्सव–२०८१’ पालुङटार नगरपालिका–५ को ठाँठीपोखरी बजार क्षेत्रमा रहेको माझटारको खेल मैदानमा गर्न लागेको लिगलिग पालुङटार उद्योग बाणिज्य संघका अध्यक्ष मान बहादुर आले मगरले बताए ।
अध्यक्ष मगरले पत्रकार सम्मेलनमा महोत्सवलाई कृषि, पर्यटन र हस्तकलाका सामाग्री प्रर्वद्वन गर्नेगरी आयोजना गरीएको समेत जानकारी दिए ।
‘ऐतिहासिक लिगलिग पालुङटारको पहिचान–कृषि, पर्यटन, उद्योग तथा ब्यापार प्रर्वद्वन मुख्य अभियान’ नारा दिएको महोत्सवले ओझेलमामा परेको पालुङटारमा रहेको लिगलिगकोट लगायतका ऐतिहासिक स्थानहरुको प्रर्वद्वन समेत हुने आयोजकले विश्वास लिएको छ ।
महोत्सवमा कृषि तथा हस्तकलाका २० स्टल सहित ब्यवसायिक स्टलहरु गरी १२० वटा रहने छन् ।
महोत्सवमा गोरखाको पालुङटर र गोरखा नगरपालिका साथै अजिरकोट र सिरानचोक गाउँपालिका सहित लमजुङको राईनास र तनहुँको भानु नगरपालिकामा उत्पादित कृषि तथा हस्तकलाका सामाग्रीहरुलाई प्रर्दशन तथा बिक्री गर्ने ब्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ ।
११ दिनसम्म चल्ने महोत्सवमा गोरखा, लमजुङ र तनहुँका साथै देशका विभिन्न स्थानबाट आउने करिब २५ हजार दर्शकले अबलोकन गर्ने अनुमान गरीएको छ ।
महोत्सव अवधिभर स्थानिय कला, संस्कृतीका प्रर्वद्वन गर्ने गरी रत्यौली गित तथा नृत्य प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता कार्यक्रमहरु सहित उत्कृष्ट किसानलाई सम्मान समेत गरीने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पालुङटार नगरपालिका मुख्य प्रायोजक रहेको महोत्सवको पालिका भित्र रहेको १० वटै वडा सह–प्रायोजक रहेको छ ।
महोत्सव अवधिभर १ करोडभन्दा बढीको कारोबार हुने पनि आयोजकले अनुमान गरेको छ ।




















