साँकेतिक तस्बिर
गोरखा । गोरखामा पछिल्लो समय मादक पदार्थ (मापसे) सेवन गरेर सवारी चलाउने चालकको संख्यामा बृद्वि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार यो आर्थिक बर्षको पहिलो ६ महिनामा मात्रै ४५१ जना त्यस्ता सवारी चालक कारवाहीमा परेको छ ।
कार्यालय प्रमुख एवं प्रहरी नायब निरिक्षक तारापती अर्यालका अनुसार मापसे गरेर सवारी चलाउनेहरुमा सबैभन्दा बढी दुई पाग्रे अर्थात मोटरसाइलक (मोसा) चालकहरु भएको बताए । उनका अनुसार यो अवधीमा कारवाहीमा परेका मध्ये ३७४ जना मोसा चालकहरु रहेका छन् ।
सवारी जाँचका क्रममा त्यस्ता चालक फेला परेको खण्डमा मोसा नियन्त्रणमा राखेर जरिवाना गरेर मात्र छाड्ने गरीएको पनि उनले जानकारी दिए ।
मापसे गरेर सवारी चलाउनेमा ठुला सवारी साधनका चालकहरु पनि रहेको कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सोही अवधीमा ५० जना कार तथा जिप चालकहरु समेत कारवाहीमा परेका छन् ।
त्यस्तैगरी, १३ जना ट्याक्टर चालक र ७–७ जना ट्रक तथा ट्याङकर चालक र बस चालक रहेका छन् । उनीहरुबाट कार्यालयले जरिवाना स्वरुप ४२ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको छ ।
अधिल्लो बर्षको सोही अवधीमा २४३ जना सवारी चालक कारवाहीमा पर्दा कार्यालयले ८ लाख २४ हजार राजश्व संकलन गरेको थियो ।
अधिल्लो बर्ष मापसे गरेर सवारी चलाउदा १ हजारदेखी २ हजारसम्म जरिवाना तिनुपर्ने प्रावधान भएता पनि यो आर्थिक बर्षबाट मापसे गरेर सवारी चलाउनेलाई पहिलो पटक ५ सय र दोस्रो पटक फेला परेमा डबल जरीवाना हुने ब्यवस्था नेपाल सरकारले गरेको कारण राजश्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ ।




















