गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले नि:शुल्क लोकसेवा आयोगको अनलाईन तयारी कक्षा संचालन गर्ने भएको छ ।
गाउँपालिकाले पालिका भित्रका योग्यता पुगेका युवायुवतीहरुलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पुर्याउने उद्देस्यले निःशुल्क लोकसेवा आयोगको अनलाईन तथा भौतिक तयारी कक्षा संचालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए ।
पालिका भित्र स्थायी रुपमा बसोवास गरिरहेका तथा योग्यता पुगेका ईच्छुक नागरिकले यही माघ १५ गतेभित्र पालिकाको कार्यालयमै पुगेर वा गाउँपालिकाको इमेल ठेगानामा आवेदन दिएर सेवा लिन सक्ने उनले जानकारी दिए ।
गाउँपालिकाले लोकसेवा आयोगको अनलाईन कक्षा संचालनका लागि चालु आर्थिक वर्ष २०८१-०८२ मा कार्यक्रम बनाएर बजेट विनियोजन गरेको छ ।
आयोगको तयारी कक्षामा गाउँपालिकाको स्थायी बासिन्दा भएका नागरीकहरुलाई प्राथमिकता दिने उनले बताए । लोकसेवा आयोगको तयारी कक्षामा सहभागी हुन कम्तिमा एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ भने १८ वर्ष पुरा भएकाे हुनुपर्ने छ ।
पुरुषको हकमा ३५ तथा महिला र अपाङ्गहरुको हकमा ४० वर्ष ननाघेकाहरुले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरीएकाे छ ।
त्यस्तै महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, आर्थिक रुपले विपन्न खसआर्य, शहिद, बेपत्ता र द्वन्द्व पीडित तथा लोकसेवा आयोगको परीक्षाको दरखास्त फाराम भरी परीक्षाको तयारीमा रहेका व्यक्तिहरुलाई तयारी कक्षामा विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।




















