गोरखा । गोरखामा सवारी नियम बिपरीत सवारी साधन चलाउने करिब ६ हजार सवारी चालक र त्यसका धनीहरु कारवाहीमा परेका छन् ।
आर्थिक बर्ष २०८१-०८२ को साउनदेखी पौष मसान्तसम्म कुल ५ हजार ८३५ सवारी चालक र त्यसका धनीहरुलाई कारवाही गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब निरिक्षक तारापती अर्यालले जानकारी दिए ।
उनका अनुसार कारवाहीमा सवारी चालक अनुमती पत्र बिना सवारी चलाउने, प्रयोजन विपरीत सवारी सञ्चालन गर्ने र लामो समयसम्म सवारी साधन नविकरण गर्नेहरु बढी कारवाहीमा परेका छन् ।
यो छ महिनामा ति सवारी साधनहरुलाई कारवाही गर्दा ५४ लाख १२ हजार १ रुपैयाँ राजश्व संकलन भएको छ ।
अघिल्लो बर्षको सोही अवधीमा ५ हजार ८४ वटा सवारी कारवाहीमा पर्दा कार्यालयले ३७ लाख ७३ हजार राजश्व संकलन गरेको पनि तथ्यांकमा देखिन्छ ।
यो आर्थिक बर्षको मंसिर महिनामा सबैभन्दा बढी सवारीहरु कारवाहीमा परेका छन् । मंसिर महिनामा मात्रै १ हजार १६६ सवारी साधन कारवाहीमा पर्दा १० लाख ३६ हजार ५०१ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसै आर्थिक बर्षको भाद्र महिनामा सबैभन्दा कम ८७४ सवारी साधन कारवाहीमा पर्दाभने ७ लाख ७८ हजार राजश्व संकलन भएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
कारवाहीमा परेका मध्ये २ हजार ७६१ व्टा मोटरसाइकल, १ हजार २७२ वटा कार–जिप, ७४९ वटा ट्रक–टिपर, ६६३ वटा बस र ३७६ वटा ट्याक्टर रहेका छन् ।


