प्रतिकात्मक तस्बिर
गोरखा । हिजो साँझ पख लागेको आगोले उत्तरी गोरखामा ३ वटा घर जलेर नष्ट भएको छ । साँझ ६ः२० बजे लागेको आगोमा परी आरुघाट गाउँपालिका–१ श्यामचेतमा ३ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार शनिबार साँझपख लागेको उक्त आगलागीबाट पुर्णबहादुर लामा, बुद्धिमान लामा र आईते लामाको घर पूर्ण रुपमा नष्ट भएको छ ।
सुरुमा पुर्ण बहादुर लामाको १ तले कच्ची घरमा अचानक आगलागी भएको र त्यस पछी संगै रहेको उनका २ छोराहरुको घरमा समेत सोही आगो सल्किएको स्थानियले जानकारी दिएको छ ।
उक्त आगलागीबाट अर्का एक स्थानिय बिरबहादुर लामाको घरमा समेत सामान्य क्षती पुगेको छ । आगलागी स्थानिय र प्रहरीको सहायतमा नियन्त्रणमा लिएको र कुनै पनि मानविय क्षती नभएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरी पुर्णबहादुर लामाको घरमा खाना पकाउन चुल्होमा बालेको आगो चुल्हो नजिक रहेको मकैको खोस्टामा अचानक सल्कन गई आगलागी भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएको छ ।


