गोरखा । गोरखा जिल्लामा यो बर्ष करिब ४० हजार मेट्रिकटन धान उत्पादन भएको छ । आर्थिक बर्ष २०८१–०८२ मा चैते र बर्षे धान गरी जिल्ला भित्र कुल ३९ हजार ८६२ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको हो ।
केन्द्रका योजना अधिकृत तथा कृषि अर्थ बिज्ञ एवं सूचना अधिकारी सुमन भट्टराईका अनुसार जिल्लामा यस पटक चैते धानमा सामान्य बृद्वि भएता पनि बर्षे धानमा भने गत बर्षकाे तुलनामा याे बर्ष ४.५ प्रतिशतले कमी आएको छ ।
उनका अनुसार बर्षे धानमा ह्स आउनुको मुख्य कारण गएको असोज १२ गते आएको बेमौसमी पानी मुख्य रहेको छ । यसले किसानले लगाएको धानमा ठुलो मात्रामा क्षती पुर्याएको थियो ।
पानी संगै आएको बाढीले धान खेत पुरेका कारण पनि बर्षे धान उत्पादानमा ह्स आएको हो । त्यस बाहेक पनि दाना नलाग्ने समस्या, Neck Blast Disease (बालाभन्दा केही तल भाँचिने) समस्याले पनि धान उत्पादनमा ह्स आएको हो ।
सूचना अधिकारी भट्टराईका अनुसार यो बर्ष किसानले लगाएको धान बालीमा राते रोग (जिंक तत्वको कमी) तथा गवारोर र फड्के किरा लाग्नाले पनि उत्पादमा ह््स आएको हो ।
जिल्ला भित्र आव २०८१–०८२ मा चैते धान ७२५ हेक्टर क्षेत्रफलमा लगाउदा ३ हजार १५४ मेट्रिटन उत्पादन भएको थियो । कार्यालयका अनुसार चैते धान प्रति हेक्टर ४.३५ मेट्रिकटन उत्पादन भएको छ ।
त्यसका साथै १० हजार १४० हेक्टर जमिनमा बर्षे धान लगाउदा ३६ हजार ७०८ मेट्रिकटन उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख गरीएको छ । जुन प्रति हेक्टर ३.६२ मेट्रिकटन हुन आउने सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
उनका अनुसार जिल्लाको ज्यादुल खोला, भूसुन्डे फाँट, छेवेटार, घ्याम्पेशाल, सिरानचोक र पालुङटार नगरपालिका धान खेतीको लागि उर्वर भूमि हुन् ।
यस पटक किसानले सावित्री, रामधान, सुख्खा १, २ र ३, महाराजा, च्यापियन र यूएस ३१२ जातको धान खेती भएको थियो । त्यस मध्ये पनि किसानको रोजाईमा साबित्री र यूएस ३१२ बढी परेको सूचना अधिकारी भट्टराईले बताए ।



