गोरखा । गोरखा ऐतिहासिक मात्र नभएर प्राकृतिक सुन्दरताको अनुपम उपहार समेत हो । गोरखामा रहेका मनोरम हिमश्रृखलादेखि लिएर पहाड एवं समथर भुगोलको संगमस्थलको अनुभूति नगर्ने प्राय कमै होलान् । वर्तमान नेपाल एकिकरणको उद्गम स्थलको रुपमासमेत परिचित गोरखाको गोरखाकाली मन्दिर, मनकामना मन्दिरलगायतका प्रसिद्ध धार्मिकस्थलले पनि यहाँको बेग्लै पहिचान बनाएको छ ।
ऐतिहासिक पृष्टभूमिलाई हेर्दा नेपाल एकिकृरण अभियानका थालनीकर्ता पृथ्वी नारायण शाहदेखी नेपालका प्रथम प्रधानमन्त्री भीमसेन, नेपालका प्रथम सहिद लखन थापाको जन्मथलोका रुपमा पनि गोरखा परिचित छ । धार्मिक, ऐतिहासिक र प्राकृतिक एवं सांस्कृति सौन्दर्यताले भरिपुर्ण गोरखा पछिल्लो समय नेपाल चलचित्रको छयाङ्कन गर्ने स्थलको रुपमा विकास हुन थालेको छ ।
लोकदोहोरी र अन्य सयौँ म्युजियक भिडियोको छयाङ्कन भइसकेको जिल्लाका बिभिन्न स्थानमा अहिले ठूला पर्दाका चलचित्रको छ्याङक्न स्थल बन्न थालेको हो । जिल्लाको सिरानचोक गाउँपालिका, गोरखा बजारलगायतका स्थानमा भर्खरै ठूलो पर्दाको चलचित्र ‘रिमै’ छायाङ्कन सकिएलगत्तै पुनः अर्को चलचित्र ‘पहाड’को छायाङ्कनको तयारी भइरहेको छ ।
चलचित्र ‘रिमै’ खिलबहादुर गुरुङको निर्देशनमा बन्न लागेको हो । उक्त चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री रिस्मा गुरुङलगायतको मूख्य भूमिका रहेको छ । करिब २९ दिन जिल्लाका बिभिन्न ठाउँमा सो चलचित्रको छायाङ्कन भएको थियो ।
चलचित्र ‘पहाड’ बरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा गोरखा सदरमुकाममा आउदो माघ महिनामा फिल्म छायाङ्कन सुरु हुनेछ ।
माघको पहिलो साताबाट निर्माण सुरु गर्न लागिएको चलचित्र ‘पहाड’ छायाङ्कनका लागि गोरखामा करिब १ महिना लाग्ने निर्देशक घिमिरेले बताए । फिल्मको कथा तथा पटकथासमेत निर्देशक घिमिरेले नै तयार पारेको ‘पहाड’ निर्माणका लागि ३ करोड खर्च लाग्ने अनुमान गरीएको छ ।
उनका अनुसार पूर्वतयारी स्वरुप गोरखामा आएर स्थान छनौट र सरोकारवालासंग छलफलसमेत गरिसकेको बताए । ‘‘हामीले छायाङ्कन स्थलको छनौट गरिसकेका छौ’ उनले भने ‘केही सहयोगकालागि गोरखा नगरपालिकाका मेयर र उपमेयरलाई समेत भेटेर कुराकानी पनि गरिसकेका छाै ।’’ निर्देशक घिमिरेसहितको टोलीले पौष ८ गते सोमबार संयुत्त रुपमा गोरखा नगरपालिका पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत एवं सञ्चारकर्मीहरुसंग छलफल समेत गरेको थियो ।
भेटमा उनले गोरखा सदरमुकाम र वरपरका स्थललाई फिल्मी सिटी बनाउन उपयुक्त भएको भन्दै सरकाले यसतर्फ ध्यान दिएको खण्डमा धेरै फिल्महरु निर्माण हुने उनले बताए । ‘‘यहाँ फिल्म सुटिङका लागि तापक्रम अत्यन्तै सुहाउदो छ’’ उनले भने ‘‘यस्तोमा सरकारीस्तरबाट फिल्म सिटी बनाउन सके यहाँ फिल्म छायाङ्कनको लर्को लाग्नेछ ।’’
निर्देशक घिमिरे निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन् । उनले भारतीय चलचित्रसमेतको निर्देशन गरिसकेका छन् । सन् १९५१ मा कालिङपोङमा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु गरे, जहाँ उनले भारतीय चलचित्रमा निर्देशन र सम्पादनको अनुभव लिने मौका पाए । १९८१ मा उनले पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ निर्देशन गरे ।
उनको ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, र ‘दर्पण छायाँ’ लगायतका फिल्महरू नेपाली सिनेमा इतिहासका महत्वपूर्ण कृति मानिन्छन् । विशेष गरी ’दर्पण छायाँ’ नेपाली चलचित्र उद्योगमा उच्च आय आर्जन गर्ने पहिलो चलचित्र बनेको थियो । घिमिरेले आफ्ना प्रायः फिल्महरूमा नेपाली समाज, संस्कृति र परम्परालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै आएका छन् । उनी आफ्ना फिल्मका कथावस्तु र गीत–संगीतमा मौलिक नेपालीपन झल्काउन विशेष ध्यान दिन्छन् ।
उनका फिल्महरू नेपाली दर्शकबीच मात्र नभई विश्वभर छरिएर रहेका नेपालीमाझ पनि लोकप्रिय छन् । तुलसी घिमिरेको लक्ष्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु, विशेष गरी एक दिन ‘ओस्कार’ अवार्ड जित्नु हो ।
यसअघि पनि जिल्ला भित्रका बिभिन्न स्थानमा नेपाली चलचित्र ‘टुकु’, चलचित्र ‘मन्त्र’ लगायतका दर्जनौ चलचित्रहरु छायाङक्न भइसकेका छन् ।



