गोरखा । गोरखा नगरपालिका गोरखाको १५औँ नगरसभाको हिउँदै अधिवेशन आज सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा भएको अधिबेशनले आर्थिक बर्ष २०७९-०८० को बेरुजु नियमित गर्ने सम्बन्धमा लेखा समितिले पेश गरेको सुुझावसहितको प्रतिवेदन सर्वसम्मत पारित गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए ।
सभामा लेखा समितिका संयोजक शितलकाजी मास्केले चालु आर्थिक बर्ष २०८१-०८२ को हालसम्म र गत आर्थिक बर्षको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेका बेरुजु नियमित गर्नका लागि नगरसभामा निर्णय पेश गरेका थिए ।
लेखा समितिले बिभिन्न १४ वटा शिर्षकमा गतआर्थिक बर्षमा महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु नियमित गर्नुपर्ने आधारसहित नियमिताका लागि अनुरोध गर्ने निर्णय पारित गरेको उनले बताए ।
नगरसभामा सहभागी नगरसभाका सदस्यहरुले नगरपालिकामा देखिएको बेरुजु घटाउनका लागि जनप्रतिनिधि र कर्मचारी दुवै पक्ष जिम्मेवारी हुनुपर्ने बताए छन् । नगरसभा सदस्य रामबहादुर खड्काले लेखासमितिले दिएको सुझावलाई पूर्णरुपमा कार्यान्वयन गरेर जानसके बेरुजु घटाउन सकिने बताए ।
उनले अनुत्पादक क्षेत्रमा देखिएका खर्च घटाउनुपर्ने तथा योजनाको भुक्तानी गर्दा आवश्यक काजजातमा पुरा गरेर मात्र भुक्तानी गर्न कर्मचारी जिम्मेवार बन्नुपर्नेमा जोडदिए ।
त्यस्तैगरी, नगरसभा सदस्य चुलबहादुर कुँवरले स्थानीय सरकारले जनताका समस्यालाई नजिकबाट सम्बोधन गर्नुपर्ने भएकाले नगरपालिकाले सवै जनप्रतिनिधिसंग बेलाबेलामा सुझाव लिएर काम गर्नुपर्ने बताए ।
त्यस्तै नगरसभाका अर्का सदस्य दिलबहादुर थापाले लेखा समितिले दिएको सुझावलाई गम्भीरता पूर्वक मनन गर्नुपर्ने बताए । अहिलेकै दरमा बर्षेनी ३.५ प्रतिशका दरले बेरुजु बढ्दै जाने हो भने नगरपालिकामा थप समस्या सिर्जना हुने उनको भनाई छ ।
नगरसभामा बोल्दै नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले नगरसभाले गरेका प्रतिवद्धता र निर्णय पूर्णरुपमा कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारी सवै मिलेर काम गर्नुपर्ने बताए ।
विकाससंगै आर्थिक सुशासन कायम गर्ने जिम्मा सवै जनप्रतिनिधिको भएको भन्दै उनले गोरखा नगरपालिकाको अधिकांस बेरुजु विल भरपाई नमिलेको र प्रक्रिया नपुगेका कारण देखिएको बताइन् ।
उपप्रमुख थोकरले बेरुजुको बिषयलाई लिएर जनप्रतिनिधिको बदनाम हुने गरी गलत व्याख्या हुने गरेकोभन्दै जनताको पक्षमा काम गर्दा नमिलका कतिपय योजनालाई संम्परीक्षण गरेर बेरुजु घटाउने गरी काम गरिरहेको बताइन् ।
नगरसभामा नगरप्रमुख कृष्णबहादुर रानामगरले चालु आर्थिक बर्षमा सम्झौता भइसकेका विकास निर्माणका योजना समयमा नै सम्पन्न गर्न र सम्झौता गर्न बाँकी रहेका योजनाहरु तत्काल सम्झौता गरी काम अघि बढाउन नगरसभाका सदस्यहरुलाई आग्रह गरे ।


