गाेरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक सम्बृद्धिका लागि सरकार र नीजि क्षेत्र मिलेर काम गर्नुपर्ने बताएका छन् ।
गोरखा उद्योग बाणिज्य संघ गोरखाको ४९औं बार्षिक साधारण सभा एवं १७औ अधिवेशनलाई आज सदरमुकामा सम्बोधन गर्दै उनले नीजि क्षेत्रसंग साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए । ‘‘स्थानीय उत्पादनलाई विश्वबजारसंग जोड्नका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण छ, मुख्यमन्त्री पाण्डेले भने, ‘‘नीजि क्षेत्र र सरकारले पहिले के गर्ने भनेर केन्द्रिकृत भएर काम गर्याै भने आर्थिक क्षेत्रमा देखिएको धेरै समस्यालाई पनि हल गर्न सकिन्छ भन्ने विश्वास छ ।’’
उनले ग्रामिण क्षेत्रमा पर्यटन र कृषि क्षेत्रमार्फत प्रसस्त रोजगारीका अवसरहरु सृजना गर्न सकिने भएकाले सरकारले त्यसतर्फ ध्यान दिएको भन्दै नीजि क्षेत्रले पनि यसलाई प्राथामिकतामा राख्नुपर्नेमा जोडदिए । प्रदेश सरकारले नीजि क्षेत्रका लागि गर्नुपर्ने काम र जिम्मेवारी आफु प्रतिवद्ध रहेको मुख्यमन्त्री पाण्डेको भनाई छ ।
ग्रामिण क्षेत्रको विकासमा सवै तहका सरकारले जोड दिदै आएको भएपनि ग्रामिण क्षेत्रबाट मानिसहरु शहरमा बसाइसराई गर्ने क्रमले थप समस्या बढ्न थालेको बताए । ‘‘गाउँमा उत्पादनलाई जोडेर रोजगारी सृजना गर्न सके बसाइसराई रोक्न सकिन्छ की भन्नेछ, उनले भने, ‘‘गाउँमा बस्ती खाली हुने हो भने हामीले निर्माण गरेको सडक, विद्यालयलगायतका अन्य पूर्वाधार व्यर्थ हुनसक्छ ।’’
नेपाल मात्र नभई विश्व अर्थतन्त्रमा पनि आर्थिक मन्दीले छोएको भन्दै उनले यसलाई सुधार गर्नका लागि बर्षौदेखि बन्द उद्योगधन्दालाई कसरी संचालन गर्नसकिन्छ भनेर कोसिस गरिरहेको उल्लेख गरे । ‘‘जति उद्योगधन्दा बढ्दै जान्छ त्यति नै सरकारको आम्दानी बढ्दै जान्छ, मुख्यमन्त्री पाण्डेले भने, ‘‘यसका लागि पनि नीजि क्षेत्रको सहयोग र सहकार्य आवश्यक छ ।’’
उनले स्रोत र साधनले अभावका कारण जनताले अपेक्षा गरेअनुसार प्रदेश सरकारलाई काम गर्न कठिन भइरहेको समेत बताए । ‘‘भौगोलिक अवस्थाका कारण भौतिक पूर्वाधार मन्त्रालयले गर्नुपर्ने बाटो बनाउने काम सेनालाई दिनुपर्ने अवस्था छ, मुख्यमन्त्री पाण्डेले भने, ‘‘सवै कुरा हामीले चाहेर पनि गर्न सकेका छैनौ, कतिपय कामका लागि पर्याप्त स्रोतसाधनका अभाव पनि छ ।’’
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश भित्रका सवै वडामा मुख्य सडक र गाउँपालिकाको केन्द्रसंग जोड्ने सडक निर्माणका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको बताए । ‘‘प्रदेश सरकारको भौतिक पूर्वाधार विकासको कुल बजेट मध्ये झण्डै ५६ प्रतिसत बजेट सडक निर्माणकै लागि बिनियोजन गरिएको छ, उनले भने, ‘‘सडकको विकास नगर्दासम्म शिक्षा, स्वास्थ्य, कृषिलगायतका अन्य क्षेत्रको विकास गर्न कठिन छ ।’’


