गोरखा । गोरखाको एक स्थानिय पालिकामा पुस्तक निर्माणको बिषयलाई लिएर नेपाल बिद्यार्थी संघले गोरखा सदरमुकाममा रहेको रुम टु रिडको कार्यालयमा तालाबन्दी गरीदिएको छ ।
जिल्लाको अजिकोट गाउँपालिकाले हालै प्रकाशित गरेको अजिरकोट सेरोफेरो किताबको बिषयलाई लिएर संघले हिजो आइतबार तालाबन्दी गरीदिएको जिल्ला सभापति शिवहरी तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार अजिरकोट गाउँपालिकाको उक्त पुस्तकमा तात्कालिन सरकार–माओवादी युद्व अर्थात जनयुद्व सम्वन्धी पाठ्यसामाग्री निर्माण गर्न रुम टु रिडले सहयोग गरेकोभन्दै तालाबन्दी गरीदिएको हो ।
कार्यालयमा तालाबन्दी गर्दै ४८ घण्टा भित्रै पालिकाबाट पाठ्यसामाग्री हटाउन समेत भनेको छ ।
यसै बिच संघले हिजो नै एक प्रेस बिज्ञप्ती जारी गर्दै ‘अजिरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम अन्तरर्गत कक्षा ५ को अजिरकोट सेरोफेरो पुस्तकमा पेज नं. ४५ देखी ४८ सम्म बिषय क्षेत्र ८ को सामाजिक चेतना अन्तर्गत पाठ १६ मा समेटिएको ऐतिहासिक परिर्वतनका परिदृष्यहरु मार्फत नेपालको संविधानले नै निर्दिष्ट गरेको सशत्र द्वन्दलाई जनयुद्वको नाम दिदै असम्बैधानिक पाठ्यबस्तुहरु समावेश गरीएकोमा अबिलम्ब हटाउन’ भनेको छ ।
संघले हिजो नै कार्यालयमा ‘कथित जनयुद्व कालिन परिदृष्यहरु समेटी माओवादी केन्द्रको झण्डा राखी जनयुद्वको बारेमा अघि बढौं भन्ने तस्बिहरु राखी कक्षा ५ का कलिला बालबालिकाहरुमा घृणित राजनैतिक बिचार बिजारोपण गर्ने अमानविय कार्य खेदजन मात्रै छैन, नेपालको संविधानको मर्म र भावना विपरीत छ’ टाँसेको सूचनामा उल्लेख गरेको छ ।
अजिरकोट गाउँपालिकाको उक्त पुस्तक निर्माणमा रुम टु रिडले प्राविधिक सहयोग गर्नुका साथै सोही कार्यालयका मुख्य कार्यक्रम अधिकृत एलबी खड्का, कर्मचारीहरु अनन्त वाग्ले र राजन सापकोटाले पुस्पतक सम्पादन गरेका थिए ।




