गोरखा । गोरखाको गोरखा नगरपालिकामा आइतबार सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको जमानत जफत भएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका ६ दलको जमानत जफत भएको हो ।
नगर क्षेत्रमा चौथो दलको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी सहित ६ दलको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजबादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेशनल रिपब्लिक नेपालको जमान तफत भएको हो ।
आइतबार सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापाले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला रानाले १२ मत, नेपाल समाजबादी पार्टी रुपेश मग्रातीले १० मत, मंगोल नेशनल अर्गनाइजेशनकी भवनी थापामगरले ९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुप सिं रानाले ५ मत र नेशनल रिपब्लिक नेपालकी सबिना तामाङले ४ मत पाएका थिए ।
कार्यालयले दिएको जानकारी अनुसार खसेको मतको १० प्रतिशत ल्याउन नसकेका ६ दलको जमानत जफत भएको हो । गोरखा नगरपालिका वडा नम्बर ५ मा २ हजार २२५ जना मतदाता मध्ये आइतबार भएको मतदानमा १ हजार ३७३ जनाले मतदान गरेका थिए ।
उप–निर्वाचनमा बिजयी भएको माओवादी केन्द्रका बिण्णु रानामगरले ४८६ मत पाएका थिए भने नेपाली काँग्रेसका भाईकाजी आलेले ४०२ मत र नेकपा एमालेकी दुर्गामायाँ रानामगरले ३४५ मत पाएका थिए ।
खसेको कुल मत मध्ये १८ मत बदर भएको थियो । उप–निर्वाचनमा ९ दलले सहभागिता जनाएको थियो ।



