गोरखा । गोरखा नगरपालिका–५ मा भइरहेको वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म ५७ प्रतिसत मत खसेको छ । दिउँसो २ः३० बजेसम्म २ वटा मतदान केन्द्रमा गरी १ हजार २८० मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म स्वाँरास्थित गोरखकाली आधारभूत विद्यालयको मतदान केन्द्रमा ४२३ मत खसेको छ । त्यहाँ कुल ७२४ मतदाता रहेका छन् ।
त्यस्तैगरी, अमराईस्थित शिवशक्ति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा ८५७ मत खसेको उनले बताए । शिवशक्ति आधारभूत विद्यालयको मतदान केन्द्रमा १ हजार ५०१ जना मतदाताहरु रहेका छन् ।
दुवै मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो । मतदाताहरु लाइनमा बसेर शान्तिपूर्वक उत्साहका साथ मतदान गरिरहेका अधिकृत रानभाटले बताए । यस वडामा कुल २ हजार २२५ मतदाता रहेका छन् ।
गोरखा नगरपालिका ५ को उपनिर्वाचनमा बिभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना वडाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।


