फाईल तस्बिर
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा शहीद स्मृति आँखा उपचार केन्द्रको स्थापना भएको छ ।
गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देस्यले गाउँपालिकाको-५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको उनको बताए । ‘‘सेवा केन्द्र सञ्चालनमा आएसंगै अवदेखि पालिकाबासीहरुलाई आँखाको उपचारका लागि पनि सहज हुने भएको छ, अध्यक्ष बन्जराले भने, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने नीति अनुरुप गाउँपालिकाले चालु आर्थिक बर्षदेखि सेवा केन्द्र सञ्चालनका लागि बजेट बिनियोजनसमेत गरेको छ ।’’
सेवा केन्द्रबाट तत्कालका लागि १ जना नेत्र साहायक नियुक्त गरी सेवा उपलब्ध गराउन थालिएको उनको भनाई छ । केन्द्र सञ्चालनका लागि आवश्यक सामाग्री तथा उपकरण भने लायन्स आँखा सेवा केन्द्र गोरखाले उपलब्ध गराएको लायन्स सेवा केन्द्र गोरखाका अध्यक्ष श्रवणकुमार जोशीले जानकारी दिए ।


